एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीविरुद्ध षड्यन्त्र सुरु भइरहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेपालले षड्यन्त्रका तानाबुना बुनिरहेको सूचना आफूले पाएको बताएका हुन् ।
सूचनाको भेरिफाई गरी गहन विश्लेषण गरेर अगाडि बढ्नुपर्ने आवश्यकता नेपालले औँल्याएको एक केन्द्रीय सदस्यले बताए । ‘हाम्राविरुद्धमा षड्यन्त्रका तानाबाना बुनिँदै छन् भन्ने सुन्नमा आइरहेको छ । कति सत्य हो, कति असत्य हो भेरिफाई गरेर जानुपर्ने अवस्था छ । परिस्थितिको ठोस विश्लेषण गरेर पूर्ण सतर्कता अपनाउनुपर्छ,’ नेपालको भनाइ उद्धृत गर्दै ती सदस्यले भने ।
बैठकले केन्द्रीय सदस्यहरूले पार्टी विभाजनको हल्ला चलेको विषय उठाएपछि नेपालले पहिलेदेखि नै षड्यन्त्र भइरहेको र चुनौतीको बीचमा पार्टी स्थापना गरेर अगाडि बढाएको स्मरण गराएको नवनिर्वाचित केन्द्रीय सदस्य दिलु पन्तले बताइन् । ‘एमाले पंक्तिले अफवाह फैलाइरहेको छ । हाम्रो पार्टी विभाजन गरेर एमालेलाई ठूलो पार्टी बनाउने षड्यन्त्र भइरहेको छ भन्ने हल्ला चलेको छ । खास कुरो के हो भनेर सदस्यहरूले विषय उठाएपछि अध्यक्षले सधैँभरि षड्यन्त्र भइरहेको बताउनुभएको हो । हल्लाको पछाडि नलागी पार्टीलाई बलियो बनाउन भूमिका खेल्न अध्यक्षले निर्देशन दिनुभएको छ,’ उनले भनिन् । पार्टी पंक्तिलाई सचेत बनाउन पनि अध्यक्षले उक्त विषय उठान गरेको उनले बताइन् ।
सांसद प्रेम आलेलगायत एमालेमा फर्किन लागेको हल्ला चलेको थियो । आले हालै सम्पन्न महाधिवेशनमा पनि उपस्थित थिएनन् । एकीकृत समाजवादीले महाधिवेशनबाट चयन भएका ९३ केन्द्रीय सदस्यमा आलेलाई समावेश गरेको छैन । नेपालले विभिन्न राजनीतिक दलहरूसँग संवाद जारी राख्नुपर्नेमा पनि जोड दिएका छन् । समाजवादी मोर्चालाई सशक्त बनाएर जानुपर्ने आवश्यकता पनि उनले औँल्याएका छन् ।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । केन्द्रीय कमिटीलाई पूर्णता दिने भन्दै बिहीबार बोलाइएको बैठक आगामी सोमबारसम्मका लागि स्थगित भएको हो । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिनेबारे बनाइएको मापदण्डबारे छलफल भएको छ । ‘केन्द्रीय कमिटीलाई पूर्णता दिन बनाइएको मापदण्डको विषयमा छलफल भयो । अर्को बैठक आगामी सोमबार बस्नेछ,’ खतिवडाले भने ।
एकीकृत समाजवादीले केन्द्रीय सदस्यका लागि संगठित सदस्यता लिएको १० वर्ष पूरा भएको हुनुपर्ने, विगतमा जिम्मेवारी सम्पादनको अवस्था, पार्टी नीतिको व्याख्या, विश्लेषण गर्ने क्षमता, जनताबीच क्रियाशीलताजस्ता मापदण्ड बनाएको छ । मूल्यांकनको विधि तय गर्नुपर्ने र विगतमा परिभाषित जिम्मेवारी कत्तिको वहन गरेको छ भनेर हेर्नुपर्ने सुझाव सदस्यहरूले दिएको पन्तले जानकारी दिइन ।