लुम्बिनी प्रदेश सरकार सञ्चालनका लागि एमाले र कांग्रेसबाट तीन-तीनजना सहभागी रहेको एउटा कार्यसम्पादन समिति बनाइएको छ । बुधबार मुख्यमन्त्री चेतनारायण आचार्य, कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसहित सातजनाको उपस्थितिमा भएको बैठकले समिति बनाएको हो ।
समितिमा भोजप्रसाद श्रेष्ठ, तुलसीप्रसाद चौधरी, भूमिश्वर ढकाल एमालेबाट र कांग्रेसबाट जन्मजय तिमिल्सिना, धनेन्द्र कार्की र बैजनाथ कलवार रहेका छन् । समितिले सरकार सञ्चालनका लागि अवधारणा निर्माण गर्ने र सो अवधारणालाई सरकारले आत्मसात् गर्ने सहमति भएको छ ।
त्यस्तै, मन्त्रिमण्डल गठन र जिम्मेवारी बाँडफाँट, नीतिगत र कार्यसम्पादनमा एकीकृत धारणा बनाउन उच्चस्तरीय संयन्त्र निर्माण गरिने पनि निर्णय गरिएको छ । सोबमोजिम नीतिगत सोच तथा दृष्टिकोणको प्रारूप निर्माण तथा निर्देशनका लागि दुई दलका प्रमुखहरू रहने उल्लेख गरिएको छ ।
त्यस्तै, सरकारको नेतृत्व आलोपालो आधाआधा कार्यावधि रहने समझदारी भएको एक नेताले बताए् ।