६ वर्षमा साढे चार लाख विद्यार्थी अध्ययनका लागि बाहिरिनुले के संकेत गर्छ ?
यसका केही पाटाहरू छन् । हाम्रो शिक्षा प्रणाली रोजगारीसित जोडिन सकेन । यसले विद्यार्थीमा यहाँ पढेर पछि रोजगारी पाइन्छ भन्ने विश्वास जगाउनै सकेन । हामीकहाँ पढ्दै काम गर्ने वातावरण पनि छैन । तर, बाहिर पढ्दै काम गरेर अध्ययनमा लाग्ने खर्च जुटाउन सकिने र पढिसकेपछि आकर्षक रोजगारी सुनिश्चित हुने भएकाले पनि हाम्रा विद्यार्थीमा बाहिरी देशको शिक्षाप्रति आकर्षण बढेको हो ।
यसरी विद्यार्थी बाहिरिनुमा को जिम्मेवार हुन सक्छन् ?
हाम्रो समाजका विभिन्न पक्षले यसमा भूमिका खेलेका हुन्छन् । हामीकहाँ छोराछोरी यतै त्रिविमा पढिरहेका छन् भन्ने हीनताबोध हुने र अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडा या युरोपतिर पढ्दै छन् भन्दा गर्वबोध गर्ने या प्रतिष्ठाको विषय बन्ने अवस्था निर्माण भएको छ । यसले पनि अभिभावकलाई छोराछोरी विदेश पठाउन र विद्यार्थीलाई पनि विदेश जान दबाब सिर्जना गरिरहेको छ । यताका विश्वविद्यालयको शैक्षिक गतिविधिमा हुने ढिलासुस्ती र विदेशी चमकधमकले पनि हाम्रा विद्यार्थीको पलायन बढाइरहेको छ ।
यो समस्याको समाधान गर्न के गर्नुपर्ला ?
पाठ्यक्रममा सामान्य परिमार्जनले मात्र विद्यार्थीमा यहाँको शिक्षामा आकर्षण बढाउन सकिन्न । यसका लागि हाम्रो रोजगार बजारदेखि विश्वविद्यालयहरूको शैक्षिक क्यालेन्डरमा समेत सुधार हुनुपर्छ । विद्यार्थीलाई निश्चित घन्टा पढेर केही घन्टा काम गर्ने वातावरण दिन राज्य, निजी क्षेत्र र विश्वविद्यालयहरू तयार हुनुपर्छ । कतिपय कोर्स अनलाइनमार्फत पनि पढ्न पाउने व्यवस्था हुनुपर्छ । शिक्षामा हुने लागतको न्यूनीकरण पनि हुनु जरुरी छ । यस विषयमा भरपर्दो अध्ययन पनि हुन आवश्यक छ ।