बागमतीका मुख्यमन्त्री लामाले बनाए १० सदस्यीय मन्त्रिपरिषद्, तीन मन्त्री थप्न बाँकी

बिहिबार, १० साउन, २०८१
डिजिटल संस्करण

हेटौँडामा बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले पहिलो चरणमा १० सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । मंगलबार मुख्यमन्त्री नियुक्त भएका लामाले बुधबार कांग्रेसबाट तीन र सत्तासाझेदार एमालेका ६ गरी नौजना मन्त्री पनि नियुक्त गरेका हुन् । 

एमालेबाट नियुक्त भएका मन्त्रीहरूले जिम्मेवारी पाए पनि कांग्रेसका मन्त्रीहरू विनाविभागीय छन् । नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले बुधबार शपथग्रहण गरी कार्यभार सम्हालेका छन् ।

१३ सदस्यीय मन्त्रिपरिषद्लाई बुधबारै पूर्णता दिने भनिए पनि कांग्रेसले मन्त्रीको टुंगो लगाउन नसकेको हो । कांग्रेसबाट थप तीनजना मन्त्री नियुक्त हुन बाँकी छन् । मन्त्रीका आकांक्षी धेरै भएकाले टुंगो लगाउन नसकिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोविन्दप्रसाद लम्सालले बताए ।  

बुधबार एमालेबाट नियुक्त भएका मन्त्रीहरूले जिम्मेवारी सम्हालेका छन् । कृषि तथा पशुपन्छीमन्त्रीमा प्रकाश श्रेष्ठ, स्वास्थ्यमन्त्रीमा किरण थापा, वन तथा वातावरणमन्त्रीमा कृष्णप्रसाद सिलवाल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा सुकमाया तामाङ, भौतिक पूर्वाधार विकासमन्त्रीमा अमन मास्के र श्रम, रोजगार तथा यातायातमन्त्रीमा प्रेमभक्त महर्जनले शपथ लिएका छन् ।

कांग्रेसबाट कुन्दन काफ्ले, श्यामबहादुर खड्का र मदुकुमार श्रेष्ठ मन्त्री बने पनि जिम्मेवारी तोकिएको छैन । मुख्यमन्त्री लामाले शीर्ष नेताहरूसँग छलफल गरी चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिने र हाल जिम्मेवारीविहीन रहेकालाई जिम्मेवारी दिइने बताए । 

उनले जनतालले सुशासनको प्रत्याभूति गर्ने गरी सरकारले काम गर्ने बताए ।  ‘विकास र सेवा प्रवाहमा प्रदेश सरकार संवेदनशील भएर काम गर्छ । सुशासन र वित्तीय अनुशासन प्रदेश सरकारको पहिलो सर्त हो । हाम्रो कामले नागरिकले दुःखी हुनुपर्दैन,’ उनले भने, ‘दुई ठूला दल मिलेर बनेको सरकारले नागरिकलाई निराशा होइन आशा दिन्छ ।’  

See More On

सुझावित समाचार