तराई/मधेश फास्ट ट्र्याक (द्रुतमार्ग) सडक आयोजनाअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका– १२ चालिसे डाँडास्थित सुरुङमार्गभित्र काम गर्ने क्रममा ढुंगाले लागेर एक मजदुरको मृत्यु भएको छ।
घटनामा परी अर्का एक मजदुर गम्भीर घाइते भएकाे प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बाराको निजगढ नगरपालिका घर भई हाल सुरुङमार्गमा काम गर्ने अन्दाजी २७/२८ वर्षका बिमल थिङको घटनास्थलमै मृत्यु भएको हो।
यस्तै, तनहुँ जिल्ला घर भई सुरुङमार्गमा काम गर्ने अन्दाजी २७/२८ वर्षकै राजु विक गम्भीर घाइते भएका छन्। उनको ढाड र कम्मरमा चोट लागेको र अवस्था गम्भीर रहेको मकवानपुर प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए। उनको हेटौँडा–११ स्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।
बुधबार दिउँसो साढे ३ बजेको समयमा सुरुङभित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुंगाले उनीहरूलाई लागेको बताइएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।