ऊर्जामन्त्रीले भने–छिटो–छरितो र गुणस्तरीय काम गर्नुस्
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई आठबुँदे मागपत्र बुझाएका छन् । मंगलबार ऊर्जामन्त्री खड्कासँग भएको भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रको विकासक्रममा नेपाली निजी क्षेत्रको ठूलो साथ र सहयोग रहनुका साथै समृद्धिको पहिलो आधार भनेकै ऊर्जा क्षेत्र भएकाले यस क्षेत्रको विकासका लागि सरकारले न्यूनतम माग सम्बोधन गरिदिनुपर्ने बताए ।
बाढी प्रभावित आयोजनाले एक वर्षसम्म पनि सहुलियत नपाएको स्मरण गराउँदै अध्यक्ष कार्कीले काबुबाहिरको परिस्थितिमा आयोजनाको व्यावसायिक विद्युत् उत्पादन गर्नुपर्ने मिति (आरसिओडी)को म्याद दुई वर्ष थप गरी विद्युत् उत्पादन अनुमतिपत्रको अवधि पाँच वर्ष थप गरिदिन आग्रह गरेका थिए ।
इप्पानका महासचिव बलराम खतिवडाले सुरुमा टेक अर पे (लेउ वा तिर) पिपिए गरिए पनि विद्युत् प्राधिकरणले प्रसारणलाइनको कारण देखाउँदै कन्टिन्जेन्सी (वैकल्पिक विद्युत् खरिद–बिक्री सम्झौता) पिपिएमा हस्ताक्षर गर्न लगाएर वर्षौँसम्म विद्युत् खरिद नगरेकाले यस्तो व्यवस्था नै खारेज गरिदिन आग्रह गरे । नवनियुक्त मन्त्री दीपक खड्काले निजी क्षेत्रले छिटो–छरितो र गुणस्तरीय काम गर्दै ऊर्जा आयोजनाको विकास गर्नुपर्नेमा जोड दिए ।