गुम्दीको गुरुङगाउँ पहिरोको जोखिममा

बुधबार, ९ साउन, २०८१
डिजिटल संस्करण

धादिङको गंगाजमुना गाउँपालिका– ३ अम्बोटेको सिंगो गाउँ नै पहिरोको जोखिममा परेको छ । ठूलो वर्षातका कारण जमिन भासिने र पहिरो खस्न थालेपछि गुरुङगाउँ होमस्टेको नामले परिचित अम्बोटेगाउँका १६ घर परिवार जोखिममा परेका हुन् । 

ठूलो वर्षा र सडकबाट बगेको भलपानी पनि बस्तीमै पसेपछि गाउँमा क्षति पुगेको स्थानीय रूपा गुरुङले बताइन् । ‘पहिरोका कारण गाउँमा क्षति हुन थालिसकेको छ । अब फेरि ठूलो पानी पर्यो भने ठूलै विपत्ति निम्त्याउन सक्छ । बस्तीभन्दा माथि र तलको दुईवटा पहिरोले गाउँ पूरै बगाउने खतरा छ,’ उनले भनिन् । 

गाउँमाथिबाट पसेको भलपानीले ठाउँठाउँमा क्षति पुग्दा गाउँ नै जोखिममा परेको अञ्जना गुरुङले बताइन् । ‘बस्तीको सिरानबाट र तल्लो भागबाट खसेको पहिरोले उच्च जोखिम बढाएको छ । पहिरो झर्ला भन्ने सोच्दै नसोचेको स्थानहरूमा पहिरो चल्न थालेपछि गाउँमा त्रास र चिन्ता बढेको छ,’ उनले भनिन्, ‘पहिरोले १३ घर उच्च जोखिममा छ । नमुना होमस्टेको रूपमा परिचित घरहरू आवतजावत गर्न चिटिक्कसँग सिँगारेर राखेको एकमात्रै गोरेटो बाटो पनि पहिरोले थुनिएको छ ।’ 

केही वर्षदेखि मात्रै होमस्टे सुरु गरिएको गुरुङगाउँ पहिरोको जोखिम बढेपछि स्थानीयहरू त्रास र चिन्तामा परेका छन् । ‘वर्षातको समय छ, कति वेला पहिरिने हो थाहा छैन । दिनमा त घरबाहिर हुँदा थाहा होला, तर रातको समयमा त झनै जोखिम रहेको छ। हाम्रो आम्दानीको स्राेत बन्दै गएको होमस्टे मात्र होइन, ओत लाग्ने छानो र वर्षाैँदेखि बस्दै आएको थातथलो नै गुमाउने डरमा छौँ,’ स्थानीय लोकबहादुर गुरुङले भने । 

सडक भत्काउँदै जमिन कटान गरेर बस्तीतर्फ पसेको भलपानीले मानिस हिँडडुल गर्ने बाटो तथा बस्तीमा क्षति पुगेको हो । 
वडासँगको सहकार्यमा पालिकाले पहिरो रोकथाम तथा व्यवस्थापनका लागि काम गरिरहेको गंगाजमुना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले बताए । 

सुझावित समाचार