सेमिफाइनलमा स्थान बनाउन भारतविरुद्ध १० ओभरमै जित निकाल्नुपर्ने थियो, तर ८२ रनले पराजित नेपाल समूह ‘ए’ को तेस्रो स्थानमा सीमित भयो
एसिसी महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल मंगलबार सर्वाधिक विजेता भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएको छ । हारसँगै नेपाल सेमिफाइनल दौडबाट बाहिरियो । भारतले समूह ‘ए’मा लगातार तीन जित निकाली शीर्ष स्थानमा रही सेमिफाइनल स्थान सुरक्षित गरेको छ । यसै समूहमा पाकिस्तान उपविजेताका रूपमा अन्तिम चारमा पुगेको छ । दुई अंक बटुलेको नेपाल र अंकविहीन युएई प्रतियोगिताबाट बाहिरिएको छ ।
श्रीलंकाको दाम्बुला मैदानमा पहिलो ब्याटिङ भारतले २० ओभरमा तीन विकेट गुमाएर एक सय ७८ रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा ९६ रन जोड्यो । नेपालले सेमिफाइनल स्थान बनाउन भारतविरुद्ध १० ओभरमा जित निकाल्नुपर्ने थियो । एसिया कपमा नेपालको यो तेस्रो सहभागिता हो । यसअघि अघिल्ला दुई सहभागीमा जितविहीन रहेको नेपालले चालू प्रतियोगितामा युएईविरुद्ध ऐतिहासिक जित हात पार्यो । समग्रमा नेपालले तीन खेलमा दुई हार र एक जित नतिजा व्यहोरेको छ । पाकिस्तानले तीन खेलमा दुई जित र एक हार सामना गर्यो । युएईले तीनवटै खेल गुमायो । पाकिस्तान भारतसँग मात्र पराजित भएको थियो ।
फाइनल प्रवेशको खेलमा भारतले समूह ‘बी’को उपविजेताविरुद्ध खेल्नेछ । पाकिस्तानले समूह ‘बी’को विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । अर्को समूहमा श्रीलंकाले दुई खेलमा जित निकाली चार अंक जोडेको छ । श्रीलंका शीर्ष स्थानमा छ । थाइल्यान्ड र बंगलादेशले दुई खेलमा समान एक जित निकाली दुई अंक जोडेको छ । रनरेटमा थाइल्यान्ड दोस्रो स्थानमा छ । मलेसियाले दुईवटा खेल गुमाएको छ ।
भारतको बलियो ब्याटिङ
नेपालको कमजोर बलिङ र फिल्डिङको फाइदा लिँदै भारतले ओपनिङमा उत्कृष्ट सुरुवात गर्यो । ओपनर साफली वर्मा र दयालान हेमलाथले पहिलो विकेटका लागि १३.६ ओभरमा एक सय २२ रनको साझेदारी गरेका थिए । यी दुवैले पहिलो विकेटका लागि ८४ बलको सामना गरेका थिए । सीता रानामगरले बर्मालाई स्टम्पिङ गर्दै नेपाललाई पहिलो सफलता दिलाइन् । बर्माले ४८ बलमा १२ चौका र एक छक्का प्रहार गरेकी थिइन् । भारतले पावर प्लेमा प्रतिओभर १० रन जोडेको थियो ।
सञ्जीवन सजना र हेमलथाले दोस्रो विकेटका लागि ११ रन साझेदारी गरे । सञ्जीवनले १२ बलमा एक चौकाको सहयोगमा १० रन बनाइन् । फर्ममा रहेकी ओपनर हेमलथा अर्धशतक बनाउन तीन रनले चुकेकी थिइन् । सीता रानामगरको ओभरमा उनी रुविना क्षेत्रीबाट क्याच–आउट भइन् । हेमलथाले ४२ बलमा पाँच चौका र एक छक्का प्रहार गर्दै ४७ रनको योगदान दिइन् ।
त्यसपछि जेमिनाह रोड्रिग्वेज र रिचा घोषले चौथो विकेटका लागि ९ बलमा २३ रन जोडे । जेमिनाहले १५ बलको सामना गरी २८ रन बनाइन् । उनले पाँच चौका प्रहार गरेकी थिइन् । रिचाले तीन बलमा एक चौकाको सहयोगमा ६ रन बनाइन् । बलिङको क्रममा नेपाल सीताले चार ओभरमा २५ रन खर्चेर दुई विकेट लिइन् ।
नेपालको कमजोर ब्याटिङ
एक सय ७९ लक्ष्य पछ्याएको नेपालको कुनै पनि समयमा गतिलो ब्याटिङ प्रदर्शन भएन । विश्व क्रिकेटमा टेस्ट, एकदिवसीय र टी–२० खेलमा अनुभवी भारतीय खेलाडीले सुरुदेखि नै नेपालका खेलाडीमाथि दबाब राखेका थिए । सम्झना खड्का र सीता रानामगरले पहिलो विकेटका लागि १.४ ओभरमा आठ रनको साझेदारी गरेका थिए । समूह चरणको पहिलो खेलमा युएईविरुद्ध अर्धशतकीय इनिङ्स खेलेकी सम्झना त्यसपछिका दुई खेलमा असफल भएकी छिन् । उनले भारतविरुद्ध सात बलमा एक चौकाको सहयोगमा सात रन मात्र बनाइन् ।
सीताले कविता कुँवरसँग दोस्रो विकेटका लागि १३ बलमा १८ रनको साझेदारी गरेकी थिइन् । कविताले ११ बलमा ६ रन बनाइन् । सीताले कप्तान इन्दुसँग २८ बलमा २२ रनको साझेदारी गरी नेपालको स्कोरलाई ९.३ ओभरमा ४३–३ को स्थितिमा राखिन् । इन्दुले १८ बलमा दुई चौकाको सहयोगमा १४ रन बनाइन् । क्रिजमा सेट भएकी सीता इनिङ्सको १०.२ ओभरमा पेभेलियन फर्किइन् । उनले २२ बल खेल्दै तीन चौका प्रहार गरी सर्वाधिक १८ रन बनाइन् । त्यसपछि विन्दु रावलले १९ बलमा १७ रन जोडिन् । अन्य खेलाडी सस्तै रनमा आउट भए ।
भारतविरुद्ध सात बलर प्रयोग
नेपालकी कप्तान इन्दु बर्माले अनुभवी भारतविरुद्ध सात बलर प्रयोग गरेकी थिइन् । तर, सिता र कविता जोशीबाहेक अन्य बलर सफल हुन सकेनन् । पूर्वकप्तान रुविनाले एक ओभर गर्दा १४ रन दिइन् । त्यसपछि पूजा महतोले एक ओभरमा १३ रन खर्चेकी थिइन् । सुरुवाती बलिङ गरेकी कविता कुँवरले दुई ओभरमा २० रन दिइन् । सवनम राईले चार ओभर बलिङ गर्दै ४१ रन खर्चिइन् । कप्तान बर्माले चार ओभरमा २९ रन खर्चेकी थिइन् ।
हामीले कमजोरी गर्यौँ : इन्दु बर्मा, कप्तान, नेपाल
हामीले पछिल्ला दुई खेलमा राम्रो खेल्ने प्रयास गरेका थियौँ । एसिया कपको प्रदर्शनबाट खुसी छु । जितका लागि धेरै कोसिस भएको थियो । प्रतियोगितामा हामीले हाम्रा कमजोरी थाहा पायौँ । अब आगामी प्रतियोगितामा कमजोरी सच्याउँदै नेपालले उत्कृष्ट पुनरागमन गर्नेछ । भारतसँगको खेलबाट नेपालका खेलाडीहरूले धेरै एक्सपोजर प्राप्त गरेका छन् ।
टी–२० विश्वकपको तयारी हो : स्मृति मान्धना, कप्तान, भारत
एसिसी टी–२० एसिया कप विश्वकपको तयारी स्वरूपमा हो । हामी पछिल्ला चार र पाँच महिना आइसिसी महिला टी–२० विश्वकपकै तयारीमा छौँ । तीन खेलमा भारतले राम्रो प्रदर्शन गरेको छ । योजनाअनुसारै खेलाडीले आ–आफ्नो भूमिका राम्रो खेलेका छन् । नेपालविरुद्धको फिल्डिङमा केही कमजोर भएको थियो ।