जुलाई १३ मा पेन्सिल्भेनिया राज्यमा आयोजित डोनाल्ड ट्रम्पको र्यालीमा गम्भीर सुरक्षा त्रुटि भएको भन्दै चिटलको राजीनामाको माग उठ्दै आएको थियो
अमेरिकी गुप्तचर सेवाकी प्रमुख किम्बर्ली चिटलले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्याप्रयास रोक्न असफल भएकोमा बढ्दो दबाब र आलोचनाबीच राजीनामा दिएकी छिन् । गुप्तचर प्रमुख किम्बर्ली चिटलले मंगलबार आफ्ना कर्मचारीलाई इमेलमार्फत पद छाड्ने योजनाबारे जानकारी गराएकी थिइन् । कैयौँ अमेरिकी सांसदले जुलाई १३ मा पेन्सिल्भेनिया राज्यमा सम्पन्न डोनाल्ड ट्रम्पको र्यालीमा पर्याप्त सुरक्षा प्रोटोकल नअपनाएको भन्दै प्रश्न उठाउँदै चिटलको राजीनामाको माग राखिरहेका थिए । पूर्वराष्ट्रपति तथा रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार ट्रम्पमाथि जुलाई १३ मा एक बन्दुकधारीले हानेको गोली उनको कानमा लागेको थियो ।
‘सुरक्षा त्रुटिको म पूर्ण जिम्मेवारी लिन्छु,’ चिटलले कर्मचारीलाई पठाएको इमेलमा भनेकी छिन्, ‘हालैका घटनाको सन्दर्भमा गह्रौँ हृदयले मैले तपाईंको निर्देशकको पद छाड्ने कठिन निर्णय गरेको छु ।’ सोमबार मात्र अमेरिकी कंग्रेस समितिले चिटललाई ट्रम्पको र्यालीमा एजेन्सीले अपनाएको सुरक्षा योजनाबारे प्रश्न गरेको थियो । उनले त्यहाँ एजेन्सीको सुरक्षा योजनाबारे सांसदहरूको आक्रोशित प्रश्नहरूको सामना गर्नुपरेको थियो । ‘पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि जुलाई १३ मा भएको हत्या प्रयास दशकौँयताको गुप्तचर सेवाको सबैभन्दा महत्वपूर्ण चुक हो । यो फेरि कहिल्यै दोहोरिने छैन,’ चेटलले क्रुद्ध सांसदहरूलाई भनेकी थिइन् ।
प्रत्यक्षदर्शीका अनुसार ट्रम्पलाई गोली हान्ने बन्दुकधारी र्यालीका लागि बनाइएको स्टेजको सीधा अगाडि स्पष्ट रूपमा देखिने बाटोमा पोजिसन लिएर बसेका थिए । उनको पोजिसनमाथि र्यालीका केही सहभागीले प्रश्न उठाउँदा गुप्चतर निकायका अधिकारीले नदेखेकोप्रति धेरैले प्रश्न गरेका छन् । त्यस्तै सो स्थानको सुरक्षाका लागि अपनाइएका प्रक्रियाबारे पनि प्रश्न खडा गरेको थियो । र्यालीमा बन्दुकधारीको गोलीले ट्रम्पको कानमा सामान्य चोट पुर्याएको थियो भने सहभागी एकजनाको मृत्यु भएको थियो । त्यस्तै दुईजना अन्य गम्भीर घाइते भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले र्यालीमा अपनाइएको सुरक्षा प्रोटोकलबारे स्वतन्त्र समीक्षा गर्न आदेश दिएका छन् । तर, सांसदहरूले चिटल र अन्य अमेरिकी कानुन प्रवर्तन एजेन्सीका प्रमुखले (होमल्यान्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्कास र एफबिआई निर्देशक क्रिस्टोफर रेलगायत) तत्काल जवाफ दिनुपर्ने माग राखिरहेका छन् ।
तल्लो सदनमा रिपब्लिकन पार्टीबाट सभामुख बनेका माइक जोन्सनले मंगलबार बिहान पत्रकारलाई चिटलले राजीनामा दिन ढिलो गरेको टिप्पणी गरे । ‘अब हामीले एजेन्सीको रूपमा गुप्तचर सेवामाथिको अमेरिकी जनताको विश्वास र भरोसालाई पुनर्निर्माण गर्नुपर्नेछ । राष्ट्रपति, पूर्वराष्ट्रपति र कार्यकारी निकायका अन्य अधिकारीहरूको सुरक्षामा यस निकायको अविश्वसनीय रूपमा महत्वपूर्ण जिम्मेवारी छ । र यसमा हामीले धेरै काम गर्न बाँकी छ,’ जोनसनले भने ।
चिटलको राजीनामाको समाचार बाहिरिएपछि एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति बाइडेनले चिटलको दशकौँ लामो सेवाका लागि धन्यवाद व्यक्त गरेका छन् । सोही विज्ञप्तिमा बाइडेनले छिटै उनको उत्तराधिकारी नियुक्त गर्ने योजना बनाएको जानकारी दिएका छन् । ‘जुलाई १३ मा जे भयो, त्यसको पिँधसम्म पुग्न स्वतन्त्र अनुसन्धान भइरहेको छ, र म त्यसको निष्कर्ष मूल्यांकन गर्न तयार छु । र, हामी सबैलाई थाहा छ, त्यो दिन जे भयो फेरि कहिल्यै हुन दिइनुहुँदैन,’ बाइडेनले भने । चिटलको राजीनामा आगामी राष्ट्रपतीय चुनाव हुन केही महिना मात्र बाँकी रहेको समयमा आएकाले महत्वपूर्ण रूपमा हेरिएको छ । ‘गुप्तचर सेवाको निर्देशक एक महत्वपूर्ण पद हो । अब राष्ट्रपतिले नयाँ निर्देशक नियुक्त गर्नेछन् । देश राष्ट्रिय चुनावमा गइरहेका वेला र राजनीतिमा ठूलो ध्रुवीकरण देखिएको वेलामा यो अत्यन्तै महत्वपूर्ण नियुक्ति हुनेछ,’ हन्नाले भनिन् ।