जबर्जस्ती करणी आरोपमा सल्यानमा दुईजना पक्राउ, एक फरार

मंगलबार, ८ साउन, २०८१
डिजिटल संस्करण

सल्यानमा एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् भने अर्का एक फरार छन्। जिल्लाको बनगाड कुपिन्डे नगरपालिका– १ स्थित माइतीघरमा सुतेकी २३ वर्षीया महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जबर्जस्ती करणीको आरोपमा बनगाड कुपिण्डे नगरपालिका– १ देवस्थल बस्ने २१ वर्षीय वसन्त बुढा र जाजरकोटको जुनीचाँदे– ८ घर भई बनगाड कुपिन्डे नगरपालिकाको देवस्थल बस्ने २४ वर्षका मानबहादुर रावतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए।

उनीहरूले गत असार ३१ गते राति १२ बजेतिर माइतीघरमा सुतिरहेकी नाबालक छोरासहितकी महिलालाई घिसार्दै कोठाबाहिर बार्दलीमा ल्याएर जबर्जस्ती करणी गरेका थिए। प्रतिवादीमध्येका एकजनाले महिलालाई बार्दलीबाट घिसार्दै ३० फिट पर शौचालयनजिकै लगेर पुनः जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ।

जबर्जस्ती करणीपछि फरार रहेका उनीहरूलाई पीडित महिलाले साउन १ गते जाहेरी दिएपछि जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले खोजतलास गर्ने क्रममा सल्लीबजार नजिकबाट पक्राउ गरेको हो। फरार एकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
 

सुझावित समाचार