श्रीलंकाको कोलम्बोमा सोमबार बसेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को बोर्ड बैठकले सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपका लागि क्षेत्रीय छनोटको कोटा निर्धारण गरेको छ । बैठकले अफ्रिका र युरोपका लागि समान दुईवटा कोटा निर्धारण गरेको छ । अमेरिका क्षेत्रबाट एक टोली विश्वकप २०२६ मा छनोट हुनेछ ।
एसियाका लागि तीनवटा कोटा निर्धारण भएको छ । यसअघि एसिया र इस्ट एसिया प्यासिफिक गरी दुईवटा छनोट हुने गथ्र्याे । अब दुवै क्षेत्रलाई एउटैमा गाभरे छनोट हुने बैठकले निर्णय गरेको छ । एसिया छनोटमा नेपाल, ओमान र पपुवा न्युगिनी सीधा छनोट भइसकेका छन् । क्षेत्रीय छनोटबाट आउने एसियाका बाँकी टोलीबीचको प्रतिस्पर्धाबाट तीन टोलीले टी–२० विश्वकप २०२६ मा स्थान पक्का गर्नेछन् ।
टी–२० विश्वकप २०२६ मा १२ टोली सीधा छनोट भइसकेका छन् । आयोजक भारत र श्रीलंकासहित अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, अमेरिका र वेस्ट इन्डिज छन् । वरीयताका आधारमा आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान छनोट भएका छन् । यसैगरी, सन् २०३० को टी–२० महिला विश्वकपमा १६ टोलीबीच प्रतिस्पर्धा हुने भएको छ । सन् २०३० मा पहिलो संस्करणभन्दा दोब्बर टोली हुनेछन् । सन् २०२६ मा इंग्ल्यान्डमा हुने प्रतियोगितामा १२ टोली हुनेछन् ।
आइसिसीको बोर्ड बैठक र वार्षिक साधरणसभामा आइसिसीका एक सय आठ सदस्य राष्ट्रका प्रतिनिधिको उपस्थिति थियो । नेपाल क्रिकेट संघबाट अध्यक्ष चतुरबहादुर चन्दसहित सचिव पारस खड्का र जिएम उत्सव ढुंगाना सहभागी थिए । आइसिसीले अमेरिका र चिली क्रिकेट संघलाई ‘निगरानी’मा राखेको छ । दुवै क्रिकेट संघलाई पारदर्शिताको अभाव भएको भन्दै आइसिसी सदस्यता मापदण्ड पूरा गर्न १२ महिनाको समय दिएको छ ।