सिराहाको अर्नमा गाउँपालिका– २ ब्रह्मपुरी घर रहेका व्यवसायीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले करिब दुई महिनापछि स्थानीय एक व्यक्तिलाई पक्राउ गरेको छ । गत ३ जेठको बिहान स्थानीय मैनाबत्ती खोला किनारको खाली खेतमा धारियो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा भेटिएका करिब ५३ वर्षीय बुधराम महतोको हत्यामा संलग्न रहेको आरोपमा उनका छिमेकी करिब ५२ वर्षीय बचाई महतो भनिने बच्चु महतोलाई ५ साउनमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार बच्चुलाई सिराहा प्रहरी प्रमुख रमेश पण्डितको कमान्डमा खटिएको टोलीले नेपाल–भारत सीमानजिक पर्ने औरही गाउँपालिका– १ दरहिया गाउँमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ गरिएका महतोविरुद्ध त्यही दिनदेखि लागू हुने गरी कर्तव्य ज्यान मुद्दामा सिराहा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको सिराहा प्रहरी प्रमुख पण्डितले जानकारी दिए ।
विष्णुपुर गाउँपालिका– १ विष्णुपुर बजारमा ग्यास, बिउविजन बिक्री गर्दै आएका बुधराम बिहान सबेरै खेततिर गए पनि नफर्किएपछि खोजी गर्ने क्रममा घाँटीको पछाडि भागमा धारिलो हतियार गरी हत्या भएको अवस्थामा भेटिएका थिए । स्थानीयका अनुसार बच्चुसँग मृतक महतोको लामो समयदेखि मोही जग्गाको विषयमा विवाद चल्दै आएको थियो ।
अर्नमा गाउँपालिकाका पूर्वअध्यक्ष रही दिवंगत भइसकेका ठकु महतोसँग जग्गा खरिद गरेका बच्चुको दुई कठ्ठा जग्गामा मृतक महतोको मोही जग्गा भेटिएपछि त्यही विषयमा चलेको विवाद जिल्ला हुँदै उच्च अदालतसम्म पुगेको स्थानीयले बताए । प्रहरीले पनि हत्याको कारण मोही जग्गाको विवाद रहेको उल्लेख गरेको छ ।