३६ मुलुकसँगको व्यापार नाफामा, १३४ मुलुकसँग व्यापार घाटामा
आर्थिक शिथिलताले आर्थिक वर्ष ०८०/८१ को वैदेशिक व्यापार खुम्चिएको भन्सार विभागले सोमबार सार्वजनिक गरेको वार्षिक तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षमा समग्र माग बढ्न नसकेपछि वैदेशिक व्यापारमा त्यसको प्रत्यक्ष असर परेको हो ।
विभागका अनुसार आव ०८०/८१ मा १५ खर्ब ९२ अर्ब ९८ करोडको वस्तु आयात भएको छ भने एक खर्ब ५२ अर्ब ३८ करोडको वस्तु निर्यात भएको छ । समीक्षा वर्षमा अघिल्लो आवको तुलनामा आयात १.१६ प्रतिशतले घटेको छ भने निर्यात ३.०३ प्रतिशतले घटेको छ । निर्यातको तुलनामा आयात बढी नै रहेकाले व्यापारघाटा १४ खर्ब ४० अर्ब कायम भएको छ । यद्यपि, यो ०७९/८० को तुलनामा ०.९६ प्रतिशतले कम हो । कुल वैदेशिक व्यापारलाई एक सय रुपैयाँ मान्ने हो भने नेपालले अहिले ९१.७३ रुपैयाँको आयात गरेको छ भने ८.७३ रुपैयाँको निर्यात गरेको छ ।
नेपालको उपभोग प्रणाली आयातमा आधारित छ । पर्याप्त उत्पादन नहुने भएकाले आयात गरेरै उपभोग गर्ने प्रवृत्तिले आयातसँग उपभोगको प्रत्यक्ष सम्बन्ध जोडिएको छ । बजारमा समग्र माग कमजोर बन्दा आयात खस्किएको भन्सार विभागका महानिर्देशक ढुन्डी निरौलाले जानकारी दिए । उनले भने, ‘बजारमा माग नै बढ्न नसकेकाले आयात घटेको छ । आयात घट्दा भन्सार कार्यालयबाट उठ्नुपर्ने राजस्व कम उठिरहेको छ ।’
उनका अनुसार ०८०/८१ मा ६ खर्ब २७ अर्बको राजस्व उठाउने भन्सार विभागले लक्ष्य राखेकोमा चार खर्ब २२ अर्ब मात्रै उठेको छ । लक्ष्यअनुसार राजस्व नउठे पनि ०७९/८० को तुलनामा राजस्व संकलन बढेको उनको भनाइ छ । उनले ०७९/८० मा तीन खर्ब ९० अर्बको मात्रै राजस्व उठेको बताए । पेट्रोलियम पदार्थमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले विस्थापित गर्दा आयातमा प्रभाव पारेको भन्सार विभागका महानिर्देशक निरौलाले बताए । जसको असर ३५ अर्बबराबरको राजस्व गुमाउनुपरेको उनको भनाइ छ । त्यस्तै, भटमास, स्टिल, वायर, रड, चिनीजस्ता २० प्रमुख वस्तुहरूको आयात घटेकाले समग्र आयात घटेको उनले जानकारी दिए ।
बढी आयात भएका वस्तु
आव ०८०/८१ मा सबैभन्दा बढी मूल्यमा डिजेल आयात भएको छ । उक्त अवधिमा एक खर्ब ४३ अर्ब ९७ करोडको डिजेल आयात भएको छ । त्यस्तै, ६८ अर्ब १० करोडको पेट्रोल, ५५ अर्ब ६१ करोडबराबरको खाना पकाउने ग्यास आयात भएको छ । ३९ अर्ब तीन करोडको फलामजन्य वस्तु, ३४ अर्ब ५७ करोडको फलामको पाता र २८ अर्ब ६६ करोडको स्मार्टफोन आयात भएको छ । २३ अर्ब ६५ करोडको सुन आयात भएको छ भने २२ अर्ब ८९ करोडको कोइला आयात भएको छ । २० अर्ब ७८ करोडको हवाई इन्धन र १९ अर्ब ६७ करोडको १०० किलोवाटसम्मको विद्युतीय गाडी आयात भएको छ ।
बढी निर्यात भएका वस्तु
आव ०८०/८१ मा १० अर्ब ५७ करोडको गलैँचा निर्यात भएको छ । जुन कुल निर्यातको ६.९३ प्रतिशत हो । यसबाट गलैँचाले निर्यात बजारलाई डो¥याउँदै गइरहेको देखिन्छ । दोस्रो ठूलो निर्यात हुने वस्तुमा अलैँची छ । यस अवधिमा सात अर्ब ९३ करोडको अलैँची निर्यात भएको छ । यो कुल निर्यातको ५.२० प्रतिशत हो । त्यस्तै, ६ अर्ब ८६ करोडको (कुल निर्यातको ४.५ प्रतिशत) फलामको पाता निर्यात भएको छ । ६ अर्ब २३ करोडको जुस निर्यात भएको छ ।
निर्यात असारमा खुम्चियो
आर्थिक वर्षको १० महिनाको अवधिमा मासिक रूपमा (असोज, मंसिर र फागुनबाहेक) खुम्चिँदै गइरहेको निर्यात जेठमा बढेको थियो । ०७९/८० को जेठको तुलनामा ०८०/८१ को जेठमा ४० करोड २२ लाखले निर्यात बढेको थियो । तर, असारमा पुनः निर्यात संकुचनमा पुगेको छ । असारमा १३ अर्ब ११ करोडको वस्तु निर्यात भएको छ । यो ०७९/८० को निर्यातको तुलनामा ४३ करोड ५२ लाखले कम हो ।
वैशाखयता आयातमा वृद्धि
मासिक रूपमा भइरहेको वस्तु आयातको तथ्यांकलाई हेर्दा आव ०७९/८० को नौ महिनाको तुलनामा आव ०८०/८१ को सोही अवधिमा प्रत्येक महिनामा आयात घटिरहेको देखिन्छ । यसबीच असोज र माघमा भने बढेको थियो । वैशाख लागेपछि भने आयात निरन्तर बढिरहेको छ । विभागका अनुसार ०७९/८० को वैशाखको तुलनामा ०८०/८१ मा दुई अर्ब १७ करोडले आयात बढेको थियो । ०७९/८० को वैशाखमा एक खर्ब ३३ अर्बको वस्तु आयात भएकोमा ०८०/८१ मा एक खर्ब ३५ अर्बको वस्तु आयात भएको थियो । त्यस्तै, ०८०/८१ को जेठमा चार अर्ब ६८ करोड बढी वस्तु आयात भएको थियो भने असारमा आठ अर्ब ५३ करोडले आयात बढेको विभागले जनाएको छ । आव ०८०/८१ को जेठमा एक खर्ब ५० अर्बको वस्तु आयात भएको छ भने असारमा एक खर्ब ३९ अर्बको वस्तु आयात भएको छ । यसले तीन महिनायता आयातमा सुधार आइरहेको स्पष्ट देखिएको छ ।