बागमती प्रदेशमा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले आज सोमबार मुख्यमन्त्रीमा दाबी पेस गर्दै छन् । कांग्रेस र एमालेको समर्थनमा नेता लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् ।
आइतबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै एमालेको समर्थनमा लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार दिउँसो प्रदेश सभामा राजीनामाको घोषणा गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा बुझाएका थिए ।
मुख्यमन्त्री जम्कट्टेलले पदबाट दिएको राजीनामा स्वीकृत गरेका प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम हिजै सरकार गठनका लागि साउन ८ गते मंगलबार साँझ ५ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए ।
प्रदेश सभामा सबैभन्दा ठूलो दल कांग्रेसका ३७ र दोस्रो ठूलो दल एमालेका २७ गरी ६४ सांसदको समर्थनमा नेता लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्ने कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए ।