एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको स्थिरताको नाममा अर्को जंगबहादुर नचाहिएको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा धारणा राख्दै उनले यस्तो बताएका हुन्। शक्तिको केन्द्रीकरणबाट स्वेच्छाचारिता जन्मिने उनको भनाइ छ।
कुनै पनि लोकतान्त्रिक मुलुकमा पहिलो र दोस्रो दलले सरकार बनाउँदैनन् भनेका नेपालले सदनलाई बलियो प्रतिपक्षको अभावमा राखेर स्वेच्छाचारी गर्न खोज्ने जोखिम रहेको बताए।
‘भोलि पछुताउनु नपरोस् । नेपालजस्तो भूराजनीतिक संवेदनशीलतासहितको बहुलता भएको देशमा निर्वाचित नै किन नहोस्। एउटा व्यक्तिको स्वेच्छाचारी शासन सम्भव छैन,’ उनले भने।
उनले अचानक सत्तासमीकरण परिवर्तन गर्नुको कुनै पनि औचित्य पुष्टि नहुने जिकिर गरे। उनले ओली र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच ‘स्वर्ग वा नर्क सँगै जाने’ भनेर दिएको वचनमाथि पनि व्यंग्य प्रहार गरे।
‘गठबन्धन तुरुन्त तोडेर अर्को सहकार्य केका लागि जरुरी थियो? त्यसमा पनि पाँच वर्ष सँगै जाने। स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने। सुन्दै आनन्द लाग्ने कुरा। आफू स्वर्गतिर लाग्यो। अर्कोलाई लात्ती हिर्काएर नर्कतिर पुर्यायो। यसरी वचन दिएको सुन्नमा आएको छ। अचानक किन गठबन्धन फेरियो ?’ उनले भने।
उनले अघिल्लो साँझसम्म ओत लागेको गठबन्धन सरकार भोलिपल्टको मिर्मिरेअघि नै ढालेर स्थिरताको कुरा गर्नु हास्यास्पद रहेको जिकिर गरे।