बागमती प्रदेशका मुख्यमन्त्री शालिकग्राम जम्कट्टेलले आफ्नो १८ महिने कार्यकालको उपलब्धिहरू सार्वजनिक गरेका छन्। उनले आफ्नो कार्यकाल प्रदेशको संस्थागत विकास र अधिकार प्राप्तिका लागि महत्त्वपूर्ण भएको दाबी गरे।
सत्ता बहिर्गमनको तयारी गरेका मुख्यमन्त्री जम्कट्टेलले यस अवधिमा प्रदेश सरकारले उल्लेखनीय प्रगति हासिल गरेको दाबी गर्दै विभिन्न क्षेत्रमा भएका विकास र सुधारका कार्यहरूको विस्तृत विवरण प्रस्तुत गरेका छन्।
उनका अनुसार प्रदेश सरकारले भौतिक पूर्वाधारका साथै आर्थिक र नीतिगत क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ। आर्थिक वर्ष ०८०/८१ मा हालसम्मकै सबैभन्दा बढी ७२.८३ प्रतिशत बजेट खर्च भएको प्रगति विवरणमा प्रस्तुत गरेका छन्।
यस्तै पुँजीगत खर्चमा उल्लेखनीय वृद्धि भई ७९.४७ प्रतिशत पुगेको र यो उपलब्धिले सार्वजनिक खर्च व्यवस्थापन र वित्तीय सुशासन कायम गर्न महत्त्वपूर्ण योगदान पुर्याएको मुख्यमन्त्रीको दाबी छ।
मुख्यमन्त्री जम्कट्टेलले पूर्वाधार विकासमा प्रदेश सरकारले ठूलो फड्को मारेको बताएका छन्। उनका अनुसार सरकार सञ्चालनको १८ महिनाको अवधिमा ५९६ किलोमिटर पक्की सडक र २६७.२ किलोमिटर ग्राभेल सडक निर्माण तथा स्तरोन्नति गरिएको छ।
यसका साथै ६१ वटा सडक पुल र १६ वटा झोलुंगे पुल निर्माण सम्पन्न भएका छन्। खानेपानी क्षेत्रमा २०५ वटा ठूला आयोजना पूरा भएका छन् भने सिँचाइतर्फ एक हजार ५२१ आयोजना सम्पन्न गरी चार हजार १४८ हेक्टर क्षेत्रमा थप सिँचाइ सुविधा विस्तार गरिएको छ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय काम भएको मुख्यमन्त्रीको दाबी छ। उनका अनुसार बागमती प्रदेश विश्वविद्यालयको स्थापना, प्रदेश अस्पतालहरूमा निःशुल्क सेवा विस्तार र प्रदेश अस्पतालका क्याबिन र आइसियूबाहेक सबै बेड निःशुल्क गरिएको कुरालाई प्रगति विवरणमा उल्लेख गरेका छन्।
सामाजिक समावेशीकरणतर्फ विभिन्न कार्यक्रमहरू सञ्चालन, चेपाङ, चिउरी तथा चमेरो संरक्षण कार्यक्रम, दलित समुदाय समग्र विकास कार्यक्रम र लैंगिक तथा यौनिक अल्पसंख्यकसम्बन्धी नीति कार्यान्वयन गरिएको कुरा उनले उल्लेख गरेका छन्। नेपाल भाषा र तामाङ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा मान्यता प्रदान गरिएको कुरालाई पनि आफ्नो कार्यकालको सामाजिकतर्फको सबैभन्दा ठूलो उपलब्धि भएको उनले दाबी गरेका छन्।
१८ महिनाको अवधिमा प्रशासनिक सुधारतर्फ पनि महत्त्वपूर्ण कदम चालिएको उल्लेख गर्दै जम्कट्टेलले ११ हजार १३ कर्मचारीको सरुवा र ४४९ कर्मचारीको बढुवा गर्नुका साथै ४० पटक मन्त्रिपरिषद् बैठक सम्पन्न गरी २११ वटा महत्त्वपूर्ण निर्णय गरेको प्रगति विवरणमा उल्लेख छ।
यस्तै, कानुन निर्माणमा पनि आफ्नो कार्यकाल उपलब्धिपूर्ण रहेको उनको दाबी छ। सातवटा ऐन, एक अध्यादेश, सात नियमावली, चार निर्देशिका र २० कार्यविधि जारी गरिएको उल्लेख गर्दै मुख्यमन्त्री जम्कट्टेलले यी उपलब्धिहरूलाई प्रदेशको समग्र विकासको कोसेढुंगाको रूपमा वर्णन गरेका छन्।
एमाले र राप्रपाको समर्थनमा २५ पुस ०७९ मा मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले आज आइतबार चौथोपटक विश्वासको मत लिन लिँदै छन्। दुई ठूला दलहरू कांग्रेस र एमाले मिलेपछि विश्वासको मत नपाउने पक्काजस्तै भएको अवस्थामा उनले उपलब्धिहरू सार्वजनिक गरेका हुन् ।