दसौँ राष्ट्रिय खेलकुद : कर्णालीमा ३५ मध्ये २४ खेल मात्रै हुने

आइतबार, ६ साउन, २०८१
डिजिटल संस्करण

बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका २४ खेल कर्णाली प्रदेशमा हुने भए पनि बाँकी खेल कहाँ हुने अझै टुंगो लाग्न सकेको छैन

पूर्वाधार र भौगोलिक कारण दसौँ राष्ट्रिय खेलकुदमा तय भएका ३५ मध्ये २४ खेल मात्रै कर्णाली प्रदेशमा हुने तय भएको छ । ३५ खेलमा चार सय १९ स्पर्धामा प्रतिस्पर्धा हुने प्रस्ताव गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र आयोजनाको जिम्मेवारी पाएको कर्णाली प्रदेश खेलकुद परिषद्ले पूर्वाधार अभावका कारण २४ खेल मात्रै कर्णाली प्रदेशका विभिन्न सहरमा हुने निर्णय गरेको हो । बाँकी खेलको भने टुंगो लाग्न सकेको छैन । 

प्रतियोगिता २ देखि ९ मंसिरसम्म हुने तय भएको छ । तर, पेरिस  ओलम्पिकमा जान पदाधिकारीबीच हानथाप, दसैँ–तिहार चाडपर्व र पूर्वाधारकै कारण प्रतियोगिता समयमै हुनेमा शंका छ । यद्यपि प्रदेश र केन्द्रीय सरकार समयमै प्रतियोगिता गराउन चाहन्छन् । ‘हाम्रो लक्ष्य समयमै प्रतियोगिता गराउने हो । हामी प्रदेशमा आयोजना हुन सक्ने खेलहरू सबै गर्नेछौँ । बाँकीको विषयमा चाँडै निर्णय लिन्छौँ,’ कर्णाली प्रदेशका सदस्य सचिव विश्वामित्र सञ्जाल भन्छन् । गण्डकी प्रदेशमा दुई वर्षअघि नवौँ राष्ट्रिय खेलकुद सम्पन्न भएपछि देशको लागि कर्णाली प्रदेशले झन्डा बोकेको थियो । 

१७ खेल सुर्खेतमा 
कर्णाली प्रदेशमा ३६ मध्ये २४ खेल हुने तय भएको छ । त्यसमध्ये पनि १७ खेल सुर्खेतको वीरेन्द्रनगरमा हुनेछ । प्रतियोगिताकै लागि भने प्रदेश सरकारले ६० करोडमाथि खर्च गरिसकेको छ । थप ६० करोड खर्च लाग्ने अनुमान गरिएअनुसार खेलकुद मन्त्रालयले सोहीबराबरको रकम नयाँ आर्थिक वर्षलाई विनियोजन गरेको हो । प्रतियोगिताको उद्घाटन तथा समापन हुने रंगशाला अन्तिम चरणमा पुगेको छ । सेन्थेटिक ट्र्याकसहितको अत्याधुनिक रंगशाला अन्तिम चरणमा छ । भिभिआइपी बक्स बन्ने क्रममै छ । बहुउद्देश्यीय कभर्ड हल बनिरहेको छ । स्विमिङ पुल, क्रिकेट मैदान धमाधम बन्ने क्रममा छन् । राखेपले पारित गरेको खेलस्थलमा एथ्लेटिक्स, ब्याडमिन्टन, पुरुष महिला क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, भलिबल, खो खो तथा फुटबल, बक्सिङ, जुडो, शारीरिक सुगठन, भारोत्तोलन, कुस्ती, तेक्वान्दो सुर्खेतकोक मुख्य प्रतियोगिता स्थलमा हुनेछन् । 

जुम्लामा फुलकन्ट्याक्ट कराँते, बुद्धिचाल र महिला तथा पुरुष हक्की हुनेछ । सल्यानमा टेबल टेनिस र महिला पुरुष कबड्डी तथा कराँते कालिकोट र आइटिएफ तेक्वान्दो पश्चिम रुकुममा हुने भएको छ । 

कर्णालीमा हुन नसक्ने १३ खेल 
राखेपले प्रारम्भिक चरणमा तय गरेको ३६ मध्ये १३ खेल कहाँ गर्ने तय हुन सकेको छैन । टेनिस, सफ्ट टेनिस, जिम्नास्टिक, स्क्वास, आर्चरी, फेन्सिङ, सेपाकताक्रो महिला÷पुरुष, सुटिङ, गल्फ, साइक्लिङ, ट्रायथोलन, प्याराग्लाइडिङ हुने टुंगो लाग्न सकेको छैन । नवौँ राष्ट्रिय खेलकुदका क्रममा पनि स्क्वास, सुटिङ र साइक्लिङ काठमाडौंमा नै आयोजना भएको थियो । क्रिकेट पनि काठमाडौंमा भएको हो । तर, वर्षाका कारण अधिकांश खेल हुनै सकेका थिएनन् । वर्षाकै कारण पूर्वकप्तान ज्ञानेन्द्र मल्ल सम्मिलित बागमतीले एकै खेल नखेली प्रतियोगिताबाट बिदा लिनुपरेको थियो । 

प्रतियोगिताअघि नै आठ खेल हुने 
दसौँ राष्ट्रिय खेलकुदमा आठ खेल भने प्रतियोगिताको उद्घाटनअघि नै सुरु हुने भएको छ । हतारहतारमा सधैँ लटरपटर हुँदै आएको प्रतियोगिता यसपटक पनि सोही हुने देखिएको छ । राखेपले सधैँ आयोजनाको जस लिन र बजेट सकाउन प्रतियोगिता हतारमा आयोजना गर्दै आएको छ । त्यसैले पनि प्रतियोगिताका क्रममा खेलाडी, खेलसंघ र खेलविज्ञले राखेपको निकै आलोचना गर्ने गरेका छन् । राखेपले २७ कात्तिकबाट औपचारिक प्रतियोगिता सुरु गर्नेछ । प्रस्तावित खेलमा महिला फुटबल, महिला–पुरुष बास्केटबल, जुडो, उसु, तेक्वान्दो र महिला–पुरुष हक्की, महिला–पुरुष ह्यान्डबल, महिला–पुरुष क्रिकेट, फेन्सिङ, भलिबल र फुलकन्ट्याक्ट सुरु हुनेछ । उद्घाटनपछि सुरु हुने खेलमा एथ्लेटिक्स, ब्याडमिन्डन, सफ्ट टेनिस, स्क्वास, आर्चरी, शारीरिक सुगठन, पौडी, टेबल टेनिस, सेपाकताक्रो महिला–पुरुष, भारोत्तोलन, सुटिङ, गल्फ, साइक्लिङ, महिला–पुरुष रग्बि, कुस्ती, तेक्वान्दो, महिला–पुरुष खो खो, कराँते र आइटिएफ तेक्वान्दो रहेका छन् । 

आवास मुख्य चुनौती 
पहिलोपटक कर्णाली प्रदेशमा बृहत् राष्ट्रिय खेलकुद आयोजना हुने भएपछि यहाँ आवासको चुनौती बढेको छ । सहरमा स्तरीय होटेल नहुँदा आवासको मुख्य चुनौती रहेको सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष रवीन्द्र चन्द बताउँछन् । ‘प्रतियोगिताका लागि हजारौँ खेलाडी, अफिसियल, निर्णायक आउँदा आवासको विषयमा अलिकति समस्या छ । यसलाई कसरी समाधान गर्ने सोच्नुपर्ने अवस्था छ,’ चन्द भन्छन् । प्रतियोगिताका लागि निर्णायक मात्रै एक हजार चार सय ९९ जना राखिएका छन् । खेलाडीको संख्या भने अझै टुंगो लाग्न सकेको छैन । यस्तै, विशिष्ट पाहुनाको विषयमा कुनै टुंगो लाग्न सकेको छैन । 

पोसाकको जिम्मेवारी प्रदेशलाई नै 
अघिल्ला खेलकुद प्रतियोगितामा पोसाकको विषयमा थुप्रै टीकाटिप्पणी भएपछि राखेपले यसपटक सम्बन्धित प्रदेशलाई नै पोसाक जिम्मेवारी दिएको छ । खेलाडीले समयमै खेल्ने जर्सी नपाउनु, पाएपछि साइज ठीक नहुने र प्रतिस्पर्धा गर्ने दुवै टोलीको एउटै पोसाक हुँदा राखेपको आलोचना हुँदै आएको थियो । ‘अघिल्ला वर्षका कमी–कमजोरी सुधार गर्न पोसाकको जिम्मेवारी सम्बन्धित प्रदेशलाई दिएका हौँ,’ सदस्य सचिव टंकलाल घिसिङले भने ।

६० करोड विनियोजन गरेका छौँ : टंकलाल घिसिङ, सदस्यसचिव, राखेप
प्रतियोगिताका लागि नेपाल सरकारबाट ६० करोड बजेट विनियोजन भइसकेको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई तयारी अगाडि बढाउन बजेट उपलब्ध गराउनेछौँ । परिषद् समयमै प्रतियोगिता गराउन तयार छ ।

प्रतियोगिता समयमै गर्छाैँ : विश्वामित्र सञ्ज्याल, सदस्यसचिव, कर्णाली
प्रतियोगिता हामीले समयमै गर्ने गरी तयार गरिरहेका छौँ । अधिकांश पूर्वाधार बनिसकेका छन् । केही बन्ने क्रममा छन् । केही अन्तिम चरणमा पुगेका छन् । प्रदेशमै हुन सक्ने खेल प्रस्ताव गरेका छौँ । बाँकीको चाँडै टुंगो लगाउँछौँ ।

आवासको समस्या छ : रवीन्द्र चन्द, जिल्ला फुटबल संघ अध्यक्ष
प्रतियोगिताका लागि खेलाडी, अफिसियल, निर्णायक र विशिष्ट व्यक्तित्वहरू प्रदेशमा पुग्दा आवासको समस्या हुनेछ । यसका लागि चाँडै नै सरोकारवालाले सोच्नुपर्छ । 

See More On

सुझावित समाचार