काठमाडौं महानगरपालिकाले सुरु गरेको भद्रकाली मन्दिर क्षेत्रको सत्तल पुनर्निर्माण पुरातत्व विभागले रोकेको छ । महानगरले सत्तलको प्राचीन शैली बिगारेर नयाँ शैली (डिजाइन)मा पुननिर्माण सुरु गरेपछि विभागले बुधबार पत्र काटेर काम रोक्न निर्देशन दिएको हो ।
विभागको निर्देशनपछि पुनर्निर्माण ठप्प भएको छ । विभागले प्राचीन स्मारक ऐन ०१३ र परम्परागत निर्माण सामग्रीको प्रयोग गरेर पुरानै शैलीमा निर्माण गर्न महानगरको ध्यानाकर्षणसमेत गराएको छ ।
काठमाडौं महानगरले सत्तलको पुरानो शैली हटाएर नेवाः शैलीमा सत्तल पुनर्निर्माण गर्ने गरी काम अघि बढाएको थियो । तर, सय वर्ष पुरानो सम्पदाको मौलिकता मेट्न नमिल्ने भन्दै पुरातत्वले काम रोक्न पत्र काटेको हो । सम्पदा अभियन्ता तथा पुरातत्वविदहरूले पनि प्राचीनता मास्न नहुने सुझाव महानगरलाई दिएका छन् । महानगरले निर्माणको सबै डिजाइन विभागलाई समेत उपलब्ध गराएको छैन । महानगरले नयाँ शैलीमा सत्तल पुनर्निर्माण गर्न २७ असारमा शिलान्यास गरेको थियो । भद्रकाली मन्दिरको सत्तल वि.सं. १९६१ मा निर्माण भएको इतिहास छ । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले सिंहदरबार निर्माण गर्दा बढी भएको निर्माण सामग्रीबाट यो सत्तल बनाएका थिए ।
पुरातत्वसँग सम्बन्धित काम भए पनि विभागसँग समन्वय नगरी गरेको विभागको आरोप छ । पुरातत्व विभागका प्रवक्ता तथा पुरातत्वविज्ञ रामबहादुर कुँवरले महानगरले मौलिकता बिगार्न लागेकाले काम रोकेको बताए । ‘पुरानो शैली बिगारेर नयाँ शैलीमा पुनर्निर्माण गर्ने भनेको छ, तर त्यसो गर्न मिल्दैन, हामीले मौलिक शैलीकै बनाउन भनेका छौँ,’ उनले भने, ‘भद्रकालीको मौलिक शैली भनेको त्यतिवेला अर्थात् राणाकालीन शैली हो, डिजाइन परिवर्तन नगरेसम्म काम अघि बढ्न दिँदैनौँ ।’ प्राचीन स्मारक ऐन ०१३ ले सय वर्ष पुरानो वस्तु, सम्पदा वा पर्वहरूलाई प्राचीन भनेर उल्लेख गरेको छ । भद्रकाली मन्दिर पनि सय वर्षभन्दा पुरानो भएकाले यसको मौलिकता तत्कालीन समयकै हुनुपर्ने विभागको ठम्याइ छ ।
०७२ सालको भूकम्पले भद्रकाली मन्दिरपरिसरमा रहेको सत्तल जीर्ण बनाएको थियो । मन्दिर क्षेत्रको सत्तललाई राणाकालीन अर्थात् विदेशी शैली हटाएर परम्परागत नेवारी शैलीमा सुरु गर्ने महानगरका मेयर बालेन्द्र साहले बताएका थिए । मेयर साहका अनुसार हालको डिजाइनमा बुट्टेदार ढोका, झ्याल, थाम समेटिएका छन् । छानो झिँगटीको हुनेछ । उत्तर (भृकुटीमण्डप) तर्फ दुईवटा ब्लक रहनेछन् । यस्तै, दक्षिणतर्फ (नेपाली सेनाको पेट्रोल पम्पतर्फ) तीनवटा ब्लक हुनेछन् । नयाँ डिजाइनअनुसार सत्तल भवनको क्षेत्रफल ३९ हजार वर्गफिट हुनेछ । स्थानीय र पुरातत्व विभागले पुरानै शैलीमा बनाउन माग गरे पनि मेयर बालेन्द्र साहले नेवारी परम्परागत शैलीमै बनाउन जोड दिएका थिए ।
महानगरका प्रवक्ता नवीन मानन्धरले पुरातत्व विभागले पुरानै शैलीमा बनाउनुपर्ने माग राख्दै काम रोकेको बताए । ‘मैले सुनेअनुसार यो मन्दिर र सत्तल राणाकालीन शैलीमा निर्माण गर्नुअघि मल्लकालीन थियो रे, त्यसपछि राणाकालीन समयमा निर्माण गर्दा राणाकालीन शैलीकै बनाइयो, अहिले फेरि मल्लकालीन शैलीकै बनाउने भनिएको हो,’ उनले भने, ‘खोइ के हो, के हो ?’