एसिसी महिला एसिया कपको आफ्नो दोस्रो खेलमा आइतबार नेपालले खराब लयमा रहेको पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । श्रीलंकाको दम्बुलामा हुने खेलमा इन्दु बर्माको कप्तानीमा रहेको नेपाल लगातार दोस्रो जितको खोजीमा छ । नेपाल लगातार दुई खेल जित्दै सेमिफाइनल पक्का गर्ने योजनामा छ । दुईपटकको उपविजेता पाकिस्तान भने पहिलो जित निकाल्न चाहन्छ । तुलानात्मक रूपमा नेपालभन्दा पाकिस्तान बलियो छ । प्रशिक्षक मनोज कटवाल टेस्ट राष्ट्रविरुद्ध सम्हालिएर खेल्ने बताउँछन् । ‘पहिलो खेल जितेका छौँ । दोस्रो खेलमा बलियो पाकिस्तानसँग सम्हालिएर खेल्छौँ,’ प्रशिक्षक भन्छन् ।
पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)ंलाई ६ विकेटले हराएको थियो । एसिया कपमा नेपालको यो पहिलो जित हो । यसअघिका आठै खेलमा नेपाल लगातार पराजित भएको थियो । नेपालको जितमा बझाङकी सम्झना खड्काले ४५ बलमा ७२ रनको इनिङ्स खेलेकी थिइन् । पहिलो जितसँगै नेपाली टोलीको आत्मबल बढेको प्रशिक्षक कटवाल बताउँछन् ।
यता, पाकिस्तान भने खराब लयमा छ । पछिल्ला पाँचै खेलमा पाकिस्तान पराजित भएको छ । एसिया कपको पहिलो खेलमै पाकिस्तान चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग सात विकेटले पराजित भयो । एसिया कपमा भारत सर्वाधिक सात र बंगलादेश एकपटक च्याम्पियन भएका छन् ।
एक्स एजले महिला क्रिकेट टिमलाई सहयोग गर्ने
एक्स एज नेपालले राष्ट्रिय महिला क्रिकेट टोलीलाई सहयोग गर्ने घोषणा गरेको छ । एसिया कप खेलिरहेको नेपाली टोलीलाई एक्स एजले दराज इ–कमर्स प्लेटफर्ममार्फत भएको आफ्नो कुल बिक्रीको १० प्रतिशत प्रदान गर्ने जनाएको छ । ‘एक्स एज ४ देखि १३ साउनसम्म दराज नेपालमा उपलब्ध हरेक उत्पादनको बिक्रीको दश प्रतिशत सीधै टोलीलाई प्रदान गर्ने प्रतिबद्धता गर्छ,’ विज्ञप्तिमा भनिएको छ । यो कदमले खेलाडीलाई प्रोत्साहन हुने विश्वास एक्स एजले लिएको छ ।