बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पनि आज विश्वासको मत लिँदै

आइतबार, ६ साउन, २०८१
डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार विश्वासको मतको सामना गर्दै छन् । एमाले र राप्रपाको समर्थनमा २५ पुस ०७९ मा मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले चौथोपटक विश्वासको मत लिन थालेका हुन् । तर, यसपटक उनको सत्ता संकटमा छ । 

दुई ठूला दलहरू कांग्रेस र एमाले मिलेपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत नपाउने पक्काजस्तै भएको छ । केन्द्रमा प्रमुख दुई ठूला दल कांग्रेस र एमालेबीच भएको सत्ता सहकार्यसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सामना गरेर बहिर्गमनमा जाने विकल्प खोजेका हुन् । एमाले सरकारबाट बाहिरिएसँगै उनी अल्पमतमा परिसकेका छन् ।

११० जना सदस्य रहेको प्रदेश सभामा मुख्यमन्त्रीसँग आफ्नो पार्टी माओवादीका २१, एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका दुईजना सांसद छन् । अर्कोतर्फ सबैभन्दा ठूलो दल कांग्रेससँग ३७ र दोस्रो ठूलो दल एमालेसँग २७ गरी ६४ सांसद छन् । यहाँ सरकार बनाउन ५४ जना सांसद चाहिन्छ । यस्तै, १२ जना सदस्य रहेको राप्रपाले पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने घोषणा गरिसकेको छ । तीनजना सदस्य रहेको नेमकिपाले पनि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने छैन । 

२४ असारमा एमालेका पाँचजना मन्त्रीले राजीनामा बुझाएर सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका जम्कट्टेलले नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम प्रदेश सभाको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए । प्रदेश सभा बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यसैबीच एमाले बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । शनिबार आफ्ना सांसदहरूलाई मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा मत दिन ह्विप जारी गरिएको एमाले प्रदेश संसदीय दलका मुख्य सचेतक मधुसूदन पौडेलले बताए । कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समिति बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

सुझावित समाचार