कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सत्तासाझेदारीमा प्रधानमन्त्री बन्दैमा केपी ओलीका बारेमा विगतमा उठेका मुद्दामा कांग्रेस मौन नबस्ने बताएका छन्।
शनिबार काठमाडौंमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईबारे लेखिएको ‘बाबुरामः अ भिजनरी रिबेल’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्।
महामन्त्री शर्माले कांग्रेसका सांसदहरू उभिएर विश्वासको मत दिएका कारण विगतमा उठेका प्रश्नलाई लुकाउने प्रयत्नमा कांग्रेस नलाग्ने स्पष्ट पारे।
‘कमरेड केपी ओलीको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउन हामी कांग्रेसका सबैले नै साथ दिन्छौँ,’ महामन्त्री शर्माले भने, ‘तर, उत्तिकै खरो भूमिकाका साथ प्रधानमन्त्रीजीलाई कुनै छुट हुने छैन कि कांग्रेसका सांसदहरू उभिएर विश्वासको मत दिएका छौँ, त्यसकारण तपाईंको बारेमा विगतमा उठाएका मुद्दा सबै थान्को लगाउँछौँ, त्यो बिल्कुल होइन। उहाँको सन्दर्भमा सरकारले गर्ने कमजोरीमा मौन बस्छौँ, त्यो पनि हुँदैन।’