प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्नु उपयुक्त हुने राप्रपा निर्देशन समितिको ठहर

शनिबार, ५ साउन, २०८१
डिजिटल संस्करण

राप्रपाको निर्देशन समितिले प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको छ।

आज बसेको निर्देशन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो। आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्नु उपयुक्त हुने प्रकाशचन्द्र लोहनी नेतृत्वको निर्देशन समितिको ठहर छ।

निर्देशन समितिको निर्णय भोलि बस्ने संसदीय दलको बैठकमा पेस हुनेछ भने
प्रधानमन्त्रीलाई विश्वासको मत दिने-नदिने निर्णय संसदीय दलले तय गर्नेछ।

कांग्रेसको समर्थनमा संविधानको धारा ७६(२)अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले भोलिको प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै छन्। धारा ७६(२)अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव लिनुपर्ने संवैधानिक व्यवस्था छ।

बैठकपछि पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राप्रपाले वर्तमान संविधानले काम गर्दैन भनिरहेको परिस्थितिमा संविधान संशोधनको एजेन्डासहित मूलतः नेपाली कांग्रेस र नेकपा (एमाले)ले निर्माण गरेको नयाँ सरकारलाई प्रारम्भिक रूपमा सकारात्मक हिसाबले लिएको भए पनि तत्पश्चातका सम्पूर्ण गतिविधिहरूको विश्लेषण गर्दा, राप्रपाले आइतबार संसदमा प्रधानमन्त्रीले माग्नुभएको विश्वासको मतको विपक्षमा मतदान गर्नु उपयुक्त हुने ठहर गरेको छ।’

एमालेका अध्यक्ष ओलीको नेतृत्वमा कांग्रेससहितको सरकार गठन हुँदा सुरुमा राप्रपाले सकारात्मक प्रतिक्रिया दिएको थियो। कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिलाई राप्रपाले सकारात्मक भनेको थियो। तर, त्यसयताका गतिविधिको विश्लेषण गर्दा निर्देशन समितिले विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्नु उपयुक्त हुने ठहर गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ।

सुझावित समाचार