मुगुको डोल्फुगाउँ लुट्ने समूहलाई पक्राउ गर्ने प्रहरी सम्मानित

शनिबार, ५ साउन, २०८१
डिजिटल संस्करण

मुगुम कार्मारोङ गाउँपालिका-१ मा रहेको डोल्फु गाउँका २४ घर, १ सार्वजनिक गुम्बा र यार्सा लुट्ने समूहलाई पक्राउ गर्न सफल भएको भन्दै गाउँपालिकाले मुगु प्रहरीलाई सम्मान गरेको छ।

गत जेठ १२ गते मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँका स्थानीयहरू यार्सागुम्बा संकलन गर्न पाटनतिर गएको मौका छोपी आठजना हतियारधारी लुटेराको समूहले गाउँमा लुटपाट गरेका थिए। एक महिना लामो अनुसन्धाना र खोजतलासपछि प्रहरीले लुटेरा समूहका तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो। पाँचजना अझै फरार छन्।

प्रहरीले लुटेराहरूको पहिचान गरी लुटेका सामानहरूमध्ये केही सामानसहित तीनजनालाई पक्रन सफल भएको भन्दै मुगुम कार्मारोङ गाउँपालिकाले नेपाल प्रहरीलाई सम्मान गर्ने निर्णय गरेको थियो।

साेही निर्णयअनुसार गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापा र प्रहरी संगठनलाई सम्मान गरेका हुन्।

सम्मान कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले दिनरात नभनी जनताको सुरक्षामा खटिने प्रहरीहरूको कामलाई उच्च मूल्यांकन गर्दै जनस्तरबाट हुने यस्ता खाले सम्मान कार्यक्रमले प्रहरीको मनोबल बढ्नुका साथै आफ्नो काम कर्तव्यमा अझ हौसला ल्याउन ऊर्जा प्राप्त हुने बताए।

प्रहरी नायब उपरीक्षकमार्फत डोल्फु घटनामा प्रत्यक्ष, अप्रत्यक्ष  खटिएका सबै प्रहरीलाई गरिएको सम्मानले जनस्तरमा प्रहरीप्रति रहेको विश्वास अझ प्रगाढ बनाएको र यस्ता जटिल खालका घटनामा प्रहरीलाई अनुसन्धान गर्न थप मनोबल बढाउने प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए।

डोल्फु घटनामा लुटेराकाे समुहले गाउँका २४ वटा घर र एउटा गुम्बाबाट सुन ३५ तोला, चाँदी ९९४ दशमलव ५ तोला, बुद्धको मूर्ति, रिणिमोक्क्ष माईको मूर्ति, मुगाको माला ९५ तोला, यार्सा, मोबाइल र ५० लाख २५ हजार नगद लुटेर लगेकाे भन्दै स्थानीयले प्रहरीसमक्ष जाहेरी दिएका थिए।

घटनालगत्तै मुगु प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीको कमान्डमा प्रहरी खटिई विभिन्न सात स्थानमा अनुसन्धान सुरु गरेको थियो। यस अनुसन्धान र खोज तलासमा मुगु प्रहरीले जुम्ला, हुम्ला, कालिकोट र डोल्पा प्रहरीसँग समन्वय र सहकार्य गरी नाकाहरूमा प्रहरी परिचालन गरेको थियो। 

प्रहरीले पक्राउ गरेका तीनजनाबाट कटुवा पेस्तोल १ थान, एसएलआर १ थान, २ थान म्याग्जिन, २५ राउन्ड गोली, ३ थान ओकेटोके, १ थान बाइनाकुलर, ५ सेट आर्मीको कम्व्याड ड्रेस, १ वटा ट्रेकिङ झोला र १ वटा सल बरामत गरेको थियो।

पक्राउ पर्नेहरूमा जुम्लाकाे गुठीचौर गाउँपालिकाका वडा नं ३ का आक्रोश पर्से भनिने गणेश भण्डारी, सोही ठेगानाका पूर्णप्रसाद भण्डारी र वडा नं ४ का कमल थापा रहेकाे प्रहरीले जनाएको छ।

सुझावित समाचार