सुनचाँदीको पसल छाडेर व्यावसायिक कृषि रोजेका सोनार

शनिबार, ५ साउन, २०८१
डिजिटल संस्करण

बाराको महागढीमाई नगरपालिका ४ दहीयारका ३८ वर्षीय युवा मनोजकुमार साह सोनारले पछिल्लो समय तरकारी खेतीलाई व्यावसायिक खेतीको रूपमा अगाडि बढाउन थालेका छन् ।  गत वर्षदेखि सोनारले तरकारी खेतीसँगै ड्रागन फ्रुटको खेती गर्न थालेका छन्। जग्गालाई भाडामा लिएर उनले गत सालदेखि ड्रागन फ्रुटको खेती गर्न थालेको सुनाए। उनका अनुसार सरार्फ अर्गानिक कृषि फर्म संस्था खोलेर एक वर्षदेखि ड्रागन फ्रुटको उत्पादन गर्न थालेर बिक्री-वितरण गर्न थालेको बताए । 

उनले ड्रागन फ्रुटको खेतीका लागि मात्र १४ कट्ठा जग्गा भाडामा लिएका छन्। यस्तै, तरकारी खेतीका लागि २६ कट्ठा जग्गा पनि भाडामा लिएका छन्। ‘सामाजिक संजालको माध्यमले ड्रागन फ्रुटको खेती गर्न  प्रेरित भएर उत्पादन गर्न थालेको हो, उनी भन्छन्, ‘उन्नत जातको बिउ परेकाले एक वर्षमै राम्रो उत्पादन हुन थाल्यो।’ 

उनले यो खेती गर्नुभन्दाअघि जिल्लामा सुनचाँदीको पसल खोलेर काम गरिरहेको थिए। तीन वर्षमा पसल बन्द भएपछि खेती सुरु गरेको उनले बताए। मेहनतअनुसारको आम्दानी राम्रो भएकाले यसैमा आफू खुसी रहेको उनको भनाइ छ। साथै, ड्रागन फ्रुटको खेतीको लागि फ्रुटको उन्नत जातको बिउ छनोट गरेर मात्र उत्पादन गर्न उनले सुझाव दिएका छन्। 
ड्रागन फ्रुटलाई तयार हुन कम्तीमा ४८ दिन लाग्ने गरेको छ। उनले लगाएको ड्रागन फ्रुट एउटा पाँच सय ग्रामको हुने गरेको छ। 

बजारको अभाव रहेको गुनासो 
ड्रागन फ्रुटको उत्पादन हुन थालेपनि पर्याप्त बजारको अभाव रहेको सोनारले गुनासो गरे। प्रत्येक वर्ष असारदेखि मंसिरसम्म सात महिना मात्र फल्ने ड्रागन फ्रुटलाई बजारको पर्याप्त व्यवस्था भए उत्पादनमा वृद्धि हुनेको भनाइ छ। अबको ६ महिनासम्म कुन बजारमा बिक्री गर्ने टुंगो नरहेको उनले सुनाए। 

एकातिर उत्पादित चिज बजारसम्म्म पुर्याउन समय लाग्ने अर्काेतिर कुन बजार लैजाने भन्नेमा आफू अन्योलमा रहेको उनले बताए। अहिले गाउँकै छेउमा रहेको गन्जभवानीपुर बजार र सदरमुकाममा रहेको कलैया बजारमा लगेर बेच्नेको गरेको बताए। उनका अनुसार बजारमा आफैँ पुगेर बिक्री गर्दा प्रतिकिलो चार सय ५० रुपैयाँमा बिक्री हुने गरेको उनको भनाइ छ। 

अनुदान पाएको छैन 
सरार्फ अर्गानिक कृषि फर्मका सञ्चालकसमेत रहेका सोनारले कृषि ज्ञान केन्द्र बाराबाहेक कसैले अहिलेसम्म कृषि अनुदान उपलब्ध नगराएको सुनाए। उनका अनुसार केही महिनाअगाडि कृषि ज्ञान केन्द्र बाराले ५० प्रतिशत अनुदानमा रड र पानी हाल्न पाइप उपलब्ध गराएको हो।

उनले पालिकाका प्रमुखले नै ड्रागन फ्रुट खेतीको उद्घाटन गर्ने वेलामा व्यावसायिक खेती गर्नेलाई अनुदान दिने घाोषण गरे पनि हालसम्म नपाएको बताए। व्यावसायिक खेती गर्नका लागि पटक-पटक अनुदानको माग गरेर पालिकाको कृषि शाखामा सम्पर्क गरे पनि अहिलेसम्म अनुदान उपलब्ध नभएको अवस्था छ। 
 

सुझावित समाचार