एसिया कपमा नेपालको ऐतिहासिक जित

ब्याटिङमा ओपनर सम्झना खड्का र बलिङमा कप्तान इन्दु बर्माको उत्कृष्ट प्रदर्शन

शुक्रबार, ४ साउन, २०८१
डिजिटल संस्करण

एसिसी महिला एसिया कपमा नेपालले ऐतिहासिक जित निकालेको छ। शुक्रबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई ६ विकेटले हरायो। 

शुक्रबार श्रीलंकाको दम्बुलामा टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय १६ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा नेपालले १६.१ ओभरमा चार विकेट गुमाउँदै जित निकालेको हो।

एसिया कपमा नेपालको यो पहिलो जित हो। यसअघि दुईपटक प्रतियोगिता खेल्दा नेपाल जितविहीन थियो । अब, नेपालले समूह ‘ए’मा सातपटकको च्याम्पियन भारत तथा बलियो पाकिस्तानसँग खेल्ने तालिका छ। 

नेपालको इनिङ्समा ओपनर सम्झना खड्काले सर्वाधिक ७२ रन बनाइन्। उनले ४५ बलमा ११ चौका प्रहार गर्दै जित दिलाएकी हुन्। यसअघि सम्झनाले ३५ बलमा आठ चौकासहित अर्धशतक बनाएकी हुन्। उनको टी–२० आईमा करिअरकै यो पहिलो अर्धशतक हो। 

पूर्वकप्तान रुविना क्षेत्रीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

त्यसअघि पहिले ब्याटिङ गरेको युएईको इनिङ्समा अलराउन्डर खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन्। ३९ बलमा दुई चौका हिर्काएकी खुसीलाई कप्तान इन्दु बर्माले कृतिका मरासिनीबाट क्याच गराएकी हुन्। त्यसबाहेक कभिसा इगोडेजले २२ रन, समाइरा धर्निधारर्काले १३ र कप्तान इशा ओजाले १० रन बनाइन्। 

बलिङतर्फ नेपालको लागि कप्तान इन्दु बर्माले तीन तथा सवनम राई, कविता जोशी र कृतिका मरासिनीले समान एक विकेट लिएका थिए। इन्दुले चार ओभरमा १९ रन खर्चेकी थिइन्। 

Please wait while image is uploading...

सुझावित समाचार