बेनी–दरबाङ सडकमा एक सातादेखि सीधा सवारी अवरुद्ध

शुक्रबार, ४ साउन, २०८१
डिजिटल संस्करण

म्याग्दीका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकमा एक सातादेखि सीधा यातायात अवरुद्ध भएको छ । बेनी नगरपालिका–४ फापरखेत र मंगला गाउँपालिका– २ को सिमाना घुमाउनेभिरको पहिरोले सडक अवरुद्ध हुँदा एक सातादेखि पश्चिम म्याग्दीको जनजीवन प्रभावित बनेको छ । 

यो सडकखण्ड हुँदै मंगला, मालिका र धवलागिरि गाउँपालिकाका बासिन्दा जिल्ला सदरमुकाम आउने–जाने गर्छन् । पहिरो निरन्तर खसेको कारण अवरुद्ध सडक सञ्चालन गराउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सीधा सवारी अवरुद्ध भएपछि सर्वसाधारणले सास्ती खेपेका छन् भने खाद्यान्न र अत्यावश्यक सामान ढुवानीमा समेत समस्या भएको मालिका गाउँपालिका– ६ दरबाङका खिम पुनले बताए।

निरन्तर पहिरो खसिरहेकाले तत्काल सडक सञ्चालन गराउन सम्भव नभएको बेनी नगरपालिका– ४ का वडासदस्य प्रेम श्रीषले जानकारी दिए । ‘पहिरो खस्ने क्रम रोकिएको छैन, खानेपानीको मुहानसमेत बगाइसकेको छ, माथिबाट पहिरो खस्न नरोकिएसम्म तलको पहिरो पन्छाएर मात्रै निकास निस्कने देखिएको छैन,’ उनले भने।

पहिरोले तातोपानी बजारको खानेपानीको पाइपलाइन बगाएर क्षति बनाएको छ। घुमाउनेभिरमा करिब दुई सय मिटर बढी सडक पहिरोले क्षति पुर्याएको छ। विगत एक दशकदेखि हरेक बर्खायाममा पहिरो खसेर सास्ती दिँदै आएको घुमाउनेभिरको पहिरो रोकथाम हुन सकेको छैन । गण्डकी प्रदेश सरकारले पहिरोग्रस्त सडकको विकल्पमा पखेर र सिमलचौर जोड्ने बेलिब्रिज निर्माण गर्ने घोषणा गरेको एक वर्ष पुगे पनि उक्त योजनाका लागि बजेट विनियोजन भएको छैन। 

सुझावित समाचार