महोत्तरीको जनकपुर-भिठ्ठामोड सडकखण्डस्थित जलेश्वर नगरपालिका– ९ प्रकौली चोक र नेपाली सेनाको गोरखनाथ गणको मध्य स्थानमा एक ट्याक्टर अनियन्त्रित भई पल्टिँदा २७ जना घाइते भएका छन् । मोहर्रम मेला हेर्न जलेश्वर नगरपालिका– ६ धवौलीबाट पिपरातर्फ गइरहेको वेला ट्याक्टर अनियन्त्रित भएर पल्टिएको हो ।
घाइतेमध्ये एक बालकलाई थप उपचारका लागि रिफर गरिएको छ भने अन्य घाइतेको जलेश्वर अस्पतालमा उपचार भइरहेको प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकले जनाएका छन् । घाइतेमध्ये जलेश्वर नगरपालिका– ६ धवौलीका १३ वर्षीय बालक आशिफ राइनको कम्मरमा गम्भीर चोट लागेको भन्दै उनलाई प्रादेशिक अस्पताल जनकपुर रिफर गरिएको हो।
ज.१त ८०४४ नम्बरको ट्याक्टर पिपरातर्फ गइरहेको वेला अकस्मात् चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको प्रारम्भिक जानकारी रहेको प्रहरीले जनाएको छ । हाल चालक फरार रहेको र उनको खोजी भइरहेको छ । ट्याक्टर भने प्रहरीको नियन्त्रणमा छ ।
महोत्तरीमा मोहर्रम (दाहा) मेला हेर्न प्रयोग भएका अधिकांश सवारीसाधन ओभरलोड र ट्राफिक नियमविपरीत चलेका छन् भने अधिकांश सडक मेलाकै कारण जाम भएका छन् । सडकमा चाप अध्यधिक भएकाले थोरै संख्यामा रहेका ट्राफिक प्रहरीको नियन्त्रणको प्रयास प्रभावकारी देखिन सकेको छैन ।