निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राख्नुपर्छ, आइटीमा जोड : वर्षमान पुन

बिहिबार, ३ साउन, २०८१
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं निवर्तमान अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालमा सूचना प्रविधि क्षेत्रमा ठूलो सम्भावना रहेको बताएका छन्।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले बिहीबार भक्तपुरको थिमिमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको भू–परिस्थितिका कारण अरू क्षेत्रमा भन्दा सूचना प्रविधि क्षेत्रमा विश्व बजारमा प्रतिस्पर्धी बन्न सक्ने बताए। मुलुकको विकासको नीति बनाउँदा भूपरिस्थितिलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो।

गत आर्थिक वर्षमा नेपालबाट एक खर्ब रुपैयाँबराबरको आइटी सेवा निर्यात भएको तथा नेपाली श्रम बजारमा हरेक वर्ष १० हजार सूचना प्रविधि विषय अध्ययन गरेका विद्यार्थी थपिने अवस्था रहेको पुनले बताए।

‘हामी करिब डेढ-डेढ अर्बको विशाल जनसंख्या र विशाल भूगोल भएका चीन र भारतको बीचमा छौँ। यस्तोमा हामीले प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र भनेको आइटी हो,’ पुनले भने, ‘आइटी क्षेत्रको सेवा विश्व बजारमा पठाउन हामीलाई न भारत न चीनको आकाश प्रयोग गर्नुपर्छ। न समुद्र प्रयोग गर्नुपर्छ।’ मन्त्री पुनले प्रतिस्पर्धी बन्न सक्ने देखेरै आफूले नयाँ आर्थिक वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्रवर्द्धन गर्ने कार्यक्रम ल्याएको उल्लेख गरे।

सूचना प्रविधिपछि कृषि, पर्यटन, जलविद्युत र सिमेन्ट उद्योगले क्षेत्रीय बजारमा प्रतिस्पर्धा गर्न सक्ने चर्चा उनले गरे। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १५ वर्षअघि जलविद्युत् क्षेत्रको लगानीको स्रोत नखोज्ने र १५ वर्षसम्म लगातार आयकर नलिने नीतिगत व्यवस्था गरेका कारण आज मुलुक लोडसेडिङमुक्त भएको तथा भारत र बंगलादेशको क्षेत्रीय बजारमा उपस्थिति जनाउन सक्ने अवस्था आएको उनले दाबी गरे।

पुनले निजी क्षेत्रलाई राज्यले अर्थतन्त्रको ड्राइभिङ सिटमा राख्नेपर्ने बताए। राज्यले सहजीकरण गर्ने र निजी क्षेत्रलाई ड्राइभिङ सिटमा राखे मात्र मुलुकको अर्थतन्त्र माथि जान सक्ने औँल्याए।

पुनले भने, ‘जति प्रतिस्पर्धी अर्थतन्त्र बनाउँछौँ, प्राइभेट सेक्टर अगाडि बढ्छ र त्यसले ड्राइभ गर्छ, राज्यले सहजीकरण गर्छ। योबाहेक कुनै पनि राजनीतिक दलले सोच्न हुन्छ जस्तो मलाई लाग्दैन।’

सुझावित समाचार