मधेश प्रदेशमा दलित सशक्तीकरण ऐन कार्यान्वयन गराउन दलित नागरिक समाजका अगुवाहरूले प्रतिबद्धता जनाएका छन्। दलित नागरिक समाजका अगुवाहरूले मधेश प्रदेशका १३६ वटै स्थानीय तहमा जातीय विभेद तथा छुवाछुत अनुगमन समिति गठन गर्न दबाब दिने प्रतिबद्धता व्यक्त गरेका हुन्।
मधेश प्रदेश सरकारले जारी गरेको दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७६ मा प्रत्येक पालिकामा यस्तो समिति गठन गर्नुपर्ने व्यवस्था छ। ऐनअनुसार हालसम्म प्रदेशभरि ३५ पालिकामा मात्र समिति गठन भएको छ। सो ऐनले स्थानीयस्तरमा जातीय विभेद तथा छुवाछुतका घटनाहरू नियन्त्रण गर्न तथा निगरानी गर्न प्रत्येक गाउँपालिका तथा नगरपालिकामा समिति रहने व्यवस्था गरेको छ।
समिति गठन गर्न पालिकाहरूले ध्यान नदिएकामा दलित अगुवाहरूले गुनासो गरेका दलित अधिकारकर्मी पत्रकार भोला पासमानले बताए। गाउँपालिकाको अध्यक्ष वा नगरपालिकाको प्रमुखले तोकेको दलित सदस्यमध्येबाट छानिएको व्यक्ति संयोजक रहने समितिले धेरै काम गर्न सक्ने व्यवस्था भएपनि समिति नै गठन नभएकाले प्रदेश सरकारले जारी गरेको ऐनको समेत पालिकाहरूले बर्खिलाप गरेको पासमानले बताए।
समितिलाई दलितको हक संरक्षण र हित प्रवर्द्धनका लागि स्थानीयस्तरमा प्रचारप्रसार र पैरवी गर्ने, यसैका लागि स्थानीय तहमा देखिएका अवरोध निराकरण गर्ने, दलितउपरको भेदभावविरुद्धको कानुन कार्यान्वयन गर्न सहयोग गर्ने, दलित विद्यार्थीको निःशुल्क तथा अनिवार्य शिक्षाको व्यवस्था मिलाउने, दलित विकास तथा उत्थानका लागि स्थानीय सरकारबाट बजेट विनियोजन गरी पारित गर्ने–गराउने र दलितहरूको अगुवाइमा उक्त कार्यक्रम कार्यान्वयन गराउन सहयोग गर्ने तथा जातीय छुवाछुतका घटना हुन नदिन नगर तथा गाउँस्तरमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने–गराउने अधिकार रहेको उनले बताए।
पालिकाहरूमा समिति नबन्दा यस्तो अधिकारको उपयोग गर्न र कानुनको कार्यान्वयन हुन नसकेको मधेश मामिलाका जानकार डा. विजयप्रसाद मिश्रले बताए। मधेश सरकारले बनाएको ऐन कार्यान्वयन गराउन पनि प्रदेश सरकारले अनुगमन गर्नुपर्ने भन्दै डा. मिश्रले कानुन बनाउने र पालना गराउन तत्परता नदेखाउँदा त्यसले विकृति सिर्जना गर्ने बताए।
दलित सरोकार मञ्च नेपालले सिराहामा दलित सशक्तीकरण ऐन कार्यान्वयनका लागि दलित नागरिक समाजका पदाधिकारी, दलित समुदायका अगुवा पत्रकार र राजनीतिक दलका दलित भ्रातृ संगठनका पदाधिकारीहरूलाई ऐन कार्यान्वयन गराउन दबाब दिने उद्देश्यले प्रशिक्षण आयोजना गरेको थियो।