पहिलोपटक आयोजना हुन लागेको एएफसी च्याम्पियन्स लिगको समूह सार्वजनिक भएको छ। नेपालको विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब प्रारम्भिक छनोटको कठिन समूहमा परेको छ ।
समूह ‘सी’मा एपिएफसहित उज्वेकिस्तानको पिएफसी नासफ र मलेसियाका सबाह एफएसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘सी’का सबै खेल मलेसियामा हुनेछन् । प्रारम्भिक चरणका खेल २५ देखि ३१ अगस्टसम्म हुनेछन्। प्रारम्भिक चरणबाट हरेक समूहका शीर्ष टोलीले समूह चरणमा स्थान सुरक्षित गर्नेछन् ।
‘तुलनात्मक रूपमा अन्य दुई टिम हामीभन्दा बलियो छन् । हामी तयारी राम्रो गर्दै समूह चरणमा स्थान बनाउन खेल्छौँ,’ गोलकिपर एञ्जिला भन्छिन्। प्रतियोगिताका लागि मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र गोलकिपर प्रशिक्षक विनोद डंगोलले प्रशिक्षण सुरु गरिसकेका छन् ।
एपिएफको टोलीमा राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा, युरोपबाट खेलिरहेकी सावित्रा भण्डारी, अनिता बस्नेत, प्रीति राई, गीता राना, सरु लिम्बू, रेनुका नगरकोटे, मञ्जलीकुमारी योञ्जन, सविता रानामगर, निशा थोकर, हिराकुमारी भुजेल, रश्मीकुमारी घिसिङ, अनिता केसीलगायत छन् । केही खेलाडी भने युवा टिमबाट आएका छन् ।