उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई राज्यले संरक्षण दिने भन्दै आत्मविश्वासका साथ राष्ट्रनिर्माणमा योगदान गर्न आग्रह गरेका छन्।
सिंहदरबारस्थित कार्यकक्षमा बुधबार नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रको विश्वास र भरोसा टुट्न नदिने विश्वास दिलाए।
सरकार निजी क्षेत्रको अविभावकका रूपमा रहेकाले सबै गुनासो र समस्या सुन्न तथा यसको समाधान खोज्न तयार रहेको उनको भनाइ छ। ‘सरकार अविभावकको रूपमा रहेर निजी क्षेत्रको विश्वास र भरोसा टुट्न दिनेछैन। राज्यले संरक्षण दिन्छ भन्ने आत्मविश्वासका साथ राष्ट्र निर्माणमा योगदान गर्नुस्,’ अर्थमन्त्री पौडेलले भने, ‘तपाईंहरूले आफूलाई निरीह, कमजोर र असहाय नठान्नु होला। समस्याको समाधानसँगै मिलेर एकै टेबुलमा बसेर खोज्ने हो। निजी क्षेत्रले खोजेको समाधान सरकारलाई मान्य हुने र सरकारको खोजेको समाधान निजी क्षेत्रलाई मान्य हुने गरी समाधान खोजौँ।’
विकास तथा समृद्धिको यात्रामा सरकार र निजी क्षेत्र सहयात्री भएकाले कुनै एक पक्षले अर्को पक्षलाई बिर्सिएर जान नसक्ने उनको भनाइ थियो।
सरकारको सबैभन्दा ठूलो चुनौती आमसर्वसाधारण र निजी क्षेत्रमा खस्किएको मनोबल उकास्नु रहेको अर्थमन्त्री पौडेलको भनाइ थियो। ‘पछिल्लो दिनमा माग र आपूर्ति घटेको छ। राजस्व घटेको छ। पुँजीगत खर्च घटेको छ। सबैभन्दा ठूलो मुख्य चुनौती भनेको मान्छेको मनोबल घटेको छ,’ उनले भने, ‘सबै समस्याको समाधान भेटिन्छ, तर टुटेको मनोबलको समाधान भेटिन्न। यसकारण तपाईंहरू उच्च मनोबलका साथ काम गर्नुहोस्। सरकार तपाईंहरूसँगै छ।’
मन्त्री पौडेलले सरकारले निजी क्षेत्रलाई नीतिगत रूपमा सहजीकरण, सहयोग र सहकार्य गर्ने नीति लिने बताए। त्यस्तै, मौद्रिक नीति कस्तो ल्याउने भन्ने अधिकार राष्ट्र बैंकलाई रहेको भन्दै उनले मौद्रिक नीति ल्याउँदा विद्यमान समस्या र अवस्थालाई सम्बोधन हुने विश्वास व्यक्त गरे।
अर्थमन्त्रीसँगको भेटमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्तरिक तथा बाह्य दुवै लगानीकर्ता, उद्योगी र आमउपभोक्ता तथा नागरिकमा उत्साह र आत्मविश्वास बढ्ने गरी अघि बढ्नुपर्ने धारणा राखे। उनले मुलुकको अर्थतन्त्रीलाई सुधार गर्नका लागि सबै सरोकारवाला सम्मिलित आयोग बनाउनुपर्ने सुझावसमेत दिए। ढकालले नयाँ सरकार बनेसँगै निजी क्षेत्रलाई व्यवसाय विस्तार र अर्थतन्त्र पुनरुत्थानमा सहज हुने विश्वास व्यक्त गरे।