लगातार दुईपटकको फाइनल प्रयासमा इंग्ल्यान्डलाई युरो च्याम्पियनसिप उपाधि दिलाउन नसकेपछि प्रमुख प्रशिक्षक गेराथ साउथगेटले पदबाट राजीनामा दिएका छन् । साउथगेटको प्रशिक्षणमा इंग्ल्यान्ड सन् २०२० र ०२४ को युरो च्याम्पियनसिपको फाइनलमा पुगेको थियो । दुवैपटक इंग्ल्यान्ड उपविजेतामा सीमित भयो । सन् १९६६ पछि इंग्ल्यान्ड मेजर फुटबल प्रतियोगिताको उपाधि जित्न नजिक पुगेको थियो । तर, साउथगेट र उनका खेलाडीले त्यो अवसर सदुपयोग गर्न सकेन । चार वर्षअघिको युरो फाइनलमा इंग्ल्यान्ड इटालीबाट टाइब्रेकर तथा यसपटक स्पेनबाट २–१ ले पराजित भयो । इंग्ल्यान्डलाई च्याम्पियन बनाउन नसक्दा उनी आलोचकका सिकार भएका थिए ।
सन् २०१६ मा इंग्लिस टोलीका प्रमुख प्रशिक्षक बनेका साउथगेटको सम्झौता आगामी डिसेम्बरसम्म छ । उपाधि दिलाउन नसकेपछि उनले इंग्लिस टोलीको भविष्य हेरी राजीनामा दिएको जनाएका छन् । खेलाडी र प्रशिक्षकका रूपमा इंग्ल्यान्डको प्रतिनिधित्व गर्न पाउँदा गौरव लागेको उनले बताएका छन् । ‘सुरुमा खेलाडी र त्यसपछि प्रमुख प्रशिक्षकको भूमिमा इंग्ल्यान्डको राष्ट्रिय टोलीमा सहभागी भएँ । यो मेरा लागि गौरवको विषय हो,’ उनजले आफ्नो राजीनामापत्रमा उल्लेख गरेका छन् । फुटबल एसोसिएसन (एफए)ले पनि साउथगेटले राजीनामा दिएको जनाएको छ ।
उनको प्रशिक्षणमा इंग्ल्यान्ड आठ वर्षभित्र अन्तर्राष्ट्रिय फुटबलमा उपाधि जित्न नसके पनि प्रभावशाली प्रदर्शन गर्यो । उनले लगातार दुईपटक इंग्ल्यान्डलाई युरोमा फाइनलमा पुर्याएका थिए । सन् २०१८ को रसिया विश्वकपमा इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको थियो । विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्ड क्रोएसियाबाट २–१ ले पराजित भएको थियो । साउथगेटले इंग्ल्यान्डलाई सफलता दिलाउन धेरै प्रयास गरेको बताएका छन् । ‘प्रशिक्षकको भूमिकामा सकेको गरेको थिएँ । इंग्ल्यान्डको टोलीमा परिवर्तन आवश्यक छm,’ उनले भने, ‘परिवर्तनका लागि नै मैले यो प्रशिक्षणबाट राजीनामा दिएको हुँ ।’
सन् १९६६ को विश्वकपपछि इग्ल्यान्डलाई फाइनल पुर्याउने प्रशिक्षक साउथगेट नै हुन् । सर राम्सीले इंग्ल्यान्डका प्रशिक्षकका रूपमा टोलीलाई विश्वकप उपाधि दिलाएका थिए । त्यसयता इंग्ल्यान्ड मेजर फुटबल प्रतियोगिताको उपाधिविहीन छ ।