राजनीतिक विश्लेषक चन्द्रकिशोरलाई तीन प्रश्न

मंगलबार, १ साउन, २०८१
डिजिटल संस्करण

नयाँ सत्तागठबन्धन र नयाँ सरकार गठनलाई कसरी हेर्नुभएको छ ?
संविधान कार्यान्वयनको दोस्रो कार्यकालमा देखिएका केही अप्ठ्यारा र झन्झटलाई सम्बोधन गरेर निकास दिने भनेर बनेको यो गठबन्धनको ‘मेनिफेस्टो’ नै अँध्यारो रातमा लेखियो र त्यसलाई अझै पनि उज्यालोमा ल्याउने साहस देखाइएको छैन । देशलाई उज्यालो भविष्य दिने भनेर अगाडि आएको गठबन्धनले अँजुलीमा उज्यालो बोकेर अँध्यारो कोठामा लगेको छ । यसले आगामी दिनमा दिने उज्यालोले नै यसको भविष्य निर्धारण गर्नेछ । 

यो सरकार र गठबन्धनका चुनौती के–के हुन सक्छन् ?
यो सरकारले सुशासन दिन सक्नुपर्छ । सेवा प्रवाहमा द्रुतता देखाउन सक्नुपर्छ । आमजनमानसमा वर्तमान व्यवस्थामाथि नै आशंका उब्जिन सक्ने खतरा रहेको समयमा आशा जगाउनु छ । प्रजातान्त्रिक संस्थाहरूमा तीव्र क्षयीकरण भएको छ । प्रधानमन्त्री केपी ओलीका लागि सम्भवतः यो नै अन्तिम अवसर हुन सक्छ । जनतामा आशा जगाउन सक्नुभयो भने उहाँले जित्नुहुनेछ । एउटा राजनीतिक उचाइ हासिल गर्नुहुनेछ । सबै कुरा रातारात गर्न त सकिन्न । तर, आशा जगाउने खालका काम भने आजैदेखि सुरु गर्नुपर्छ । किनकि, यो सरकारका लागि मधुमासको अवधि छैन । पहिलो दिनदेखि नै ‘काउन्ट डाउन’ सुरु भइसकेको छ । 

यो गठबन्धन र सरकारबाट राजनीतिक स्थायित्वको सम्भावना कति देख्नुहुन्छ ?
संसदीय गणितका आधारमा हेर्दा स्थायित्व नै देखिन्छ । दुई ठूला दलका शीर्ष नेताहरू दुवै परीक्षित नै हुनुहुन्छ । परीक्षा दिन बाँकी छैन । त्यसैले, उहाँहरूले आगामी दिनमा खेल्ने भूमिकाले नै राजनीतिक स्थायित्व या अस्थिरता देखाउनेछ । 
 

सुझावित समाचार