असार मसान्तसम्ममा पूर्वमा आधा रोपाइँ, पश्चिममा मैजारोको तयारी

असार मसान्तसम्म देशभर ६८.८ प्रतिशत भू–भागमा रोपाइँ सकियाे

मंगलबार, १ साउन, २०८१
डिजिटल संस्करण

असार मसान्तसम्म देशभर ६८.८ प्रतिशत भू–भागमा रोपाइँ सकिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार पश्चिम क्षेत्रमा मैजारो हुन लागेको छ । मन्त्रालयका अनुसार सुदूरपश्चिममा ९५ प्रतिशत र कर्णालीमा ८६.२ प्रतिशत रोपाइँ सकिएको छ । तुलनात्मक रूपमा धानखेती कम हुने क्षेत्रफल भएको र जेठदेखि नै रोपाइँ भएकाले पश्चिमका दुई प्रदेशमा रोपाइँ सकिन लागेको हो ।

सुदूरपश्चिममा धानखेतीयोग्य जमिन एक लाख ७४ हजार पाँच सय ७६ हेक्टर रहेकोमा एक लाख ६५ हजार आठ सय ७४ हेक्टरमा रोपाइँ सकिएको छ । त्यस्तै, कर्णालीमा सबैभन्दा कम ४१ हजार नौ सय चार हेक्टर धानखेतीयोग्य जमिनमध्ये ३६ हजार एक सय २९ हेक्टरमा किसानले रोपाइँ गरिसकेका छन् ।

धान धेरै फल्ने पूर्वको कोशी र मधेश प्रदेशमा भने क्रमशः ६१.७ प्रतिशत र ६१.५ प्रतिशत रोपाइँ सकिएको छ । कोशीमा दुई लाख ७६ हजार तीन सय ८६ हेक्टर धानखेतीयोग्य जमिन रहेकोमा एक लाख ७० हजार चार सय ५० हेक्टरमा रोपाइँ सकिएको छ । त्यस्तै, सबैभन्दा धेरै धान फल्ने जमिन रहेको मधेशमा तीन लाख ८३ हजार एक सय ५० हेक्टरमध्ये दुई लाख ३५ हजार चार सय ७५ हेक्टर मात्रै रोपाइँ सकिएको छ ।

बागमतीमा ६९.२ प्रतिशत, गण्डकीमा ६७.४ प्रतिशत र लुम्बिनीमा ६६.७ प्रतिशत रोपाइँ सकिएको छ । लुम्बिनी दोस्रो धेरै धान फल्ने जमिन भएको क्षेत्र हो । यहाँ तीन लाख ११ हजार ६ सय ४३ हेक्टर जमिनमा धान रोपाइँ हुने अनुमान छ । त्यस्तै, बागमतीमा एक लाख १४ हजार पाँच सय ६१ हेक्टर र गण्डकीमा ९६ हजार ५३ हेक्टर जमिनमा रोपाइँ हुने अनुमान छ ।
कषि मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यसपटक रोपाइँ धेरै भएको छ । गत वर्ष असार मसान्तमा देशभर ५६.५ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।
 

See More On

सुझावित समाचार