कुपोषणले कमजोर बनाउँदै छ मानिसको आइक्यू क्षमता

मंगलबार, १ साउन, २०८१
डिजिटल संस्करण

विश्वले पर्याप्त खाना उब्जाउँछ, तर अनेकन व्यवधानले गर्दा कलिला मस्तिष्कसम्म पोषक तत्व पुग्नबाट रोक्छ, यो एउटा गम्भीर अवरोध हो

अघिल्ला पुस्ताका मानिसहरूभन्दा आजका मानिस धेरै चतुर छन् । सन् १९४८ देखि २०२० को बीचमा ७२ देशमा गरिएको एक अध्ययनले ‘आइक्यू’ औसतमा २.२ अंकले बढेको देखायो । यस आश्चर्यजनक परिवर्तनलाई ‘फ्लाइन इफेक्ट’को रूपमा चिनिन्छ । यस्तो इफेक्टबारे पहिलोपटक पत्ता लगाएका वैज्ञानिक जेम्स फ्लाइनको नामबाटै यसको नामाकरण गरिएको छ । फ्लाइन सुरुमा यस खोजबाट अचम्भित थिए । मस्तिष्कको विकास हुन लाखौँ वर्ष लाग्यो । तर, केही दशकमा नै यो कसरी यति छिटो ‘इम्प्रुभ’ हुन सक्यो त?

यसको उत्तर हुन्छ, मानिसहरू राम्रोसँग पोषित र ‘मानसिक रूपमा प्रोत्साहित (मेन्टल्ली स्टिमुलेटेड)’ भए । जसरी मांसपेशीहरूलाई बलियो बनाउन पोषण र व्यायामको आवश्यकता पर्छ, उसरी नै मस्तिष्कलाई पनि विकसित हुन सही पोषक र गतिविधिको आवश्यकता पर्छ । विगतका दशकमा भन्दा आजका केटाकेटीहरू कुपोषित हुने सम्भावना धेरै कम छ भने उनीहरू स्कुल जाने सम्भावना अधिक छ । यद्यपि, सन्तोष मान्नुपर्ने अवस्था भने अझै छैन ।

बाल–मष्तिष्कहरू दुई तरिकाले बर्बाद भइरहेका छन् । धनी देशमा, फ्लाइन इफेक्टले धेरै हदसम्म आफ्नो असर देखाइसकेको छ र मस्तिष्कहरूले आफ्नो प्राकृतिक विकास पूरा गरिसकेका छन् । हाम्रो विशेष प्रतिवेदनले ती देशको शैक्षिक उपलब्धि किन खस्कँदै गएको छ र त्यसबारे के गर्न सकिन्छ भनेर जाँचपड्ताल गर्छन् । एउटा छुट्टै ब्रिफिङमा हामी अझ गम्भीर समस्याबारे छलफल गर्छाैँ । गरिब र मध्यम आय भएका देशमा, अधिकांश बालबच्चा अझै पनि आफ्ना संज्ञानात्मक क्षमताको उच्चतम अवस्थासम्म पुग्न सक्ने गरी पोषित हुन पाएका छैनन् ।

विश्वमा पाँच वर्षमुनिका २२ प्रतिशत अर्थात् करिब १५ करोड बालबालिका कुपोषणबाट ग्रसित छन् । यसको अर्थ उनीहरूको दिमागको विकास पनि अवरुद्ध भएको हुन सक्छ । विश्वका आधाभन्दा बढी बालबालिकामा सूक्ष्म पोषक तत्वको कमी छ । यसबाट उनीहरूको मस्तिष्कको विकास अवरुद्ध भएको हुन सक्छ । कमजोर पोषण र स्टिमुलेसन(उत्प्रेरणा)को कमी आइक्यू पोइन्टमा १.५ अंकको हानिमा अनुदित हुन सक्छ । यसको नतिजा चिन्ताजनक हुन्छ । एक अध्ययनका अनुसार कुपोषणले आयमा २५ प्रतिशत कमी गराउँछ । गर्भाधानपछिको पहिलो हजार दिनको ‘सुनौलो अवधि’मा भएको क्षति त अपरिवर्तनीय र स्थायी नै हुन सक्छ ।

विश्वले पर्याप्त खाना उब्जाउँछ, तर अनेकन व्यवधानले गर्दा कलिला मस्तिष्कसम्म पोषक तत्व पुग्नबाट रोक्छ । एउटा अवरोध युद्ध हो । गोलाबारुधबाट जोगिन कतै आश्रय लिन पुगेका घरपरिवारले खेतीपाती लगाउन वा उठाउन पाउँदैनन् । केही द्वन्द्वग्रस्त स्थानलाई त सरकारले नै जानाजानी दमनमा राख्ने गर्छन् । अर्काे हो रोगव्याधी । राम्ररी खाना नपाएका केटाकेटी प्रायजसो बिरामी पर्छन् । उपियाँ, उडुस र जुम्राजस्ता परजीवीहरूसँग जुझ्न ऊर्जा खर्चनुपर्दा पनि आवश्यक पोषक नपुगी उनीहरूको मस्तिष्कको विकास अवरुद्ध हुन पुग्छ । 

यो समस्यामा ठूलो हिस्सेदारी गरिबीको हुन्छ । सहायता संस्था युनिसेफको विश्वव्यापी तथ्यांकले के देखाउँछ भने अति सीमित आहार (दुईभन्दा बढी खाद्य समूह समाविष्ट नभएको) भएकामध्ये आधाजति बालबालिका गरिब परिवारका हुने गर्छन् भने अन्य आधा बालबालिका अन्य समूहका हुने गरेका छन् । असन्तुलित एवं खराब खानपिनको आदतलगायतका कारण ती कुपोषित हुने गरेका छन् । मध्यम आय भएका देशहरूमा समेत धेरैजसो आमाबाबुले शिशुलाई कार्बाेहाइड्रेट खुवाउनुलाई नै पर्याप्त ठान्न, प्रोटिन र सूक्ष्म पोषकतत्वलाई बेवास्ता गर्छन् । सेक्सिजम अर्थात् लैंगिक विभेदले पनि यसमा भूमिका खेल्छ । पितृसत्तात्मक समाजमा प्रायः पतिले पहिले खान्छन् । प्रोटिनजति उनीहरूले नै खाइदिन्छन् र पर्याप्त प्रोटिन र आइरनयुक्त खाना नहुँदा गर्भवती पत्नीलाई आइरनको कमी हुन पुग्छ । कुनै–कुनै संस्कृतिमा त गर्भवती महिलाहरूले अति पोषिला खानेकुरा खानु नै बर्जित छ । जस्तो कि इथियोपियाका केही भागमा अन्डा र इन्डोनेसियाका केही भागमा झिँगेमाछा खानु वर्जित छ । कुपोषित आमाले बच्चा पनि कुपोषित नै जन्माउने सम्भावना बढी हुन्छ ।

जनसांख्यिकीले पनि यसमा तात्कालिकता थपेको छ । कुपोषण धेरै भएका देशमा प्रजननदर सबैभन्दा बढी छ । पोषणमा सुधार नआए आगामी पुस्ताले अहिलेको पुस्ताले भन्दा बढी संज्ञानात्मक चुनौतीको सामना गर्नेछ । र, यो एउटा भयानक परिणाम हुनेछ किनकि यो सजिलै उपेक्षित हुन सक्छ । विश्व बैंकको अनुमानअनुसार कुपोषणविरुद्ध लड्न वार्षिक १२ अर्ब अमेरिकी डलर मात्र भए पुग्छ । यो भनेको अमेरिकाले कृषि अनुदानका नाममा खेर फाल्ने रकमको एकतिहाइभन्दा केही बढी मात्र हो ।

यो समस्याको हलमा विभिन्न रणनीतिले काम गर्न सक्छ । सबैभन्दा सरल रणनीति भनेको फलाम, जिंक र फोलिक एसिडजस्ता सूक्ष्म पोषक तत्वले युक्त पीठोजस्ता आधारभूत खाद्य पदार्थको पर्याप्तता सुनिश्चित गर्नु हो । यो सस्तो पनि छ र यसले ठूलो फरक पार्न सक्छ । कुनै समय चीनदेखि स्विट्जरल्यान्डसम्ममा आम रहेको ‘क्रेटिनिज्म (मानसिक अशक्तताको गम्भीर रूप)’ नुनमा आयोडिन थप्दा आज विगतको कुरा बनेको छ । करिब ७५ प्रतिशत देशले कम्तीमा सामूहिक रूपमा उत्पादित केही खाद्य पदार्थलाई सुदृढ गर्न खोजेका छन् । तर, चामललाई गरिएको छैन । अतिरिक्त ‘भिटामिन ए’ हुने गरी आनुवंशिक रूपमा परिमार्जन गरिएको ‘गोल्डेन राइस’लाई फिलिपिन्सले गलत दिशाउन्मुख ठान्दै हालसालै प्रतिबन्ध लगाएको छ । शिशु वा गर्भवती आमाका गरिब परिवारलाई केही रकम दिनु अर्काे तरिका हो । खाना बाँड्नुभन्दा नगद बाँड्नु राम्रो हुन्छ । यो अधिक लचक पनि हुन्छ । किनकि यसलाई औषधि र खानामा खर्च गर्न सकिन्छ । यसको वितरण कार्य पनि कम खर्चिलो हुन्छ, डिजिटल रूपमा नै वितरण गरी सम्बन्धित व्यक्ति वा परिवारसमक्ष पुर्याउन सकिन्छ । साथै, निगरानी गर्न पनि सजिलो हुन्छ । गरिबका लागि खाद्यान्न बोकेका ट्रक अक्सर चोरी हुन्छन् वा तिनमा मिसावट गरिन्छ ।

केही योजनालाई नवजात शिशुका माता–पितालाई खोप, पोषण र स्वच्छताबारे सिकाउनेजस्ता बालबच्चालाई मद्दतगार सर्तयुक्त बनाउन सकिन्छ । मानिसको बानी परिवर्तन गर्न असाध्यै गाह्रो हुन्छ । तर, अधिकांश आमाबाबु आफ्ना छोराछोरी स्वस्थ भएर हुर्काेस् भन्ने चाहन्छन्, तसर्थ उनीहरू यस्ता कुरा सिक्न प्रोत्साहित नै हुन्छन् । ‘सुनौला पहिलो हजार दिन’मा ध्यान केन्द्रित गर्दै पोषणलाई बढावा दिने कार्यलाई स्वास्थ्य हेरचाह प्रणालीकै हिस्सा बनाउनुपर्छ । महिलाहरूलाई गर्भवती हुनुअघि नै सूक्ष्म पोषक र सरसफाइबारे सिकाउनु राम्रो हुन्छ । यसो गर्न नसकेको खण्डमा गर्भावस्थाको हेरचाह आमाहरूको ध्यान खिच्ने सही समय हुन्छ । बुबाहरूसम्म पुग्न अलि गाह्रो छ, तर उनीहरूलाई आफ्नी पत्नीलाई पोषणयुक्त खाना दिए आफ्ना जन्मने छोराछोरीलाई समेत फाइदा हुन्छ भनेर बताइयो भने उनीहरूको पनि मन जित्न सकिन्छ ।

यसका सथै, थप अनुसन्धान आवश्यक छ । बंगलादेशका वैज्ञानिकले स्थानीय झुपडपट्टीका अधिकांश महिलाहरूको आन्द्रा सुन्निएको पाएका छन् । यसको अर्थ उनीहरूमा आन्द्रामा पोषक तत्व राम्ररी अवशोषित गर्ने असल ब्याक्टेरियाको कमी छ भन्ने हो । त्यसैले उनीहरू असल ब्याक्टेरियालाई बढावा दिने सस्ता तौरतरिका परीक्षण गरिरहेका छन् । अफ्रिकाका अनुसन्धाता मलेरियालाई प्रोत्साहन नदिई रक्तअल्पता (रगतमा फलामको कमी)को उपचार कसरी गर्ने भनेर खोज गरिरहेका छन् (किनकि यो परजीवी आइरन पर्याप्त रहेको रगतमा फस्टाउँछ)।

केही मानिस अब सोच्ने काम आर्टिफिसियल इन्टेलिजेन्सबाट आउटसोर्स गरिन थालेकाले मानव बुद्धिमत्ताको महत्वव धेरै नहुने तर्क गर्छन् । यस्तो ठान्नु भनेको सय वर्ष पहिले कारको आविष्कारले हिँडडुलको कार्यलाई अनावश्यक बनाउँछ भनेर सोच्नुजस्तै मूर्खतापूर्ण हुनेछ । कार्यस्थलमा मानव बुद्धि र एआई एक–अर्काका परिपूरक हुनेछन् । मस्तिष्क पैसा कमाउन र चिन्तनमननको आनन्द उठाउनका लागि हो । हार्वर्ड युनिभर्सिटीका स्टिभन पिंकर बुद्धिमत्तालाई ‘जीवनलाई गतिदिने धक्का (टेलविन्ड इन लाइफ)’ भन्छन्, जसले मानिसलाई नयाँ चुनौती वा बदलिँदो वातावरणसँग तर्कसंगत रूपमा अनुकूलन हुन मद्दत गर्छ । सस्तोमै आगामी पुस्ताले बलियो ‘टेलविन्ड’ पाउन सक्छ । तिनलाई इन्कार गर्नु गलत मात्र होइन, मूर्खता पनि हुनेछ ।

– द इकोनोमिस्ट 

See More On

सुझावित समाचार