ओली नेतृत्वको मन्त्रिपरिषदमा पर्साबाट तीनजना मन्त्री

सोमबार, ३२ असार, २०८१
डिजिटल संस्करण

संघीय संसद्को दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ गठबन्धनको सरकारमा पर्साबाट पहिलोपटक तीनजना मन्त्री बनेका छन्। एमाले संसदीय दलका नेता केपी ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषदमा पर्साबाटै तीन सांसद मन्त्री बनेका हुन्।

पर्साको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ का प्रदीप यादव, २ का अजयकुमार चौरसीया र ३ का राजकुमार गुप्ता मन्त्री बनेका छन्। उनीहरू क्रमश: जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेबाट निर्वाचित सांसद हुन्।

निर्वाचन क्षेत्र १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन्। पर्सामा तेस्रोपटक मन्त्री बन्ने यादव पहिलो प्रतिनिधिसभा सदस्य हुन्।

२३ वैशाखमा जसपा नेपाल फुटेर जसपा बनेपछि जसपाका उपमहासचिवसमेत रहेका यादव यसअघि निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा ५३ दिनको लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका थिए। एमालेले समर्थन फिर्ता लिएर प्रचण्ड सरकार अल्पमतमा परेपछि उनले राजीनामा  गरेका थिए। यसअघि यादव ०७९ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि वन तथा वातावरणमन्त्री थिए। सो वेला उनले ९९ दिनका लागि मन्त्रालय  सम्हालेका थिए।

यसैगरी, पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य अजयकुमार चौरसियाले कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन्। चौरसिया यसअघि ०५६ सालमा स्थानीय विकास राज्यमन्त्री बनेका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका चौरसिया ०७० र ०७४ सालको निर्वाचनमा लगातार दुईपटक पराजित भएका थिए।

पर्सा क्षेत्र नं ३ का सांसद गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएका छन्। गुप्ता ०७० र ०७९ सालको निर्वाचनमा विजयी भएका थिए भने ०७४ को चुनावमा पराजित भएका थिए।

सुझावित समाचार