पुल अभावमा सदरमुकाम जान ५५ किलोमिटर घुम्न बाध्य सिराहा औरहीका बासिन्दा

सोमबार, ३२ असार, २०८१
डिजिटल संस्करण

पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सिराहाको औरही र अर्नमा गाउँपालिका जोड्ने सहजा खोलाको पुल निर्माण सुस्त हुँदा स्थानीय बासिन्दाले कठिनाइ भोग्नुपरेको छ । गत साता आएको बाढीले पुल निर्माणका लागि दक्षिणपट्टि बनाइएको डाइभर्सन बगाएपछि नजिकै रहेको सिराहा अस्पतालसम्म बिरामी पुर्याउनसमेत सास्ती भोग्नुपरेको स्थानीयको गुनासो छ । 

बाढीले डाइभर्सन बगाएपछि हलुका सवारीसाधनको आवतजावतसमेत ठप्प भएको छ । जसले गर्दा औरही, बरियारपट्टि, जिरोमाइल, गोलबजार, चोहर्वा हुँदै सिराहासम्म पुग्न ५५ किलोमिटरको दूरीको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्य भएको औरही–४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद यादवले बताए । पैदल यात्रु र मोटरसाइकलसम्मका लागि स्थानीय युवाहरूले मोटो प्लाइबोर्ड र जस्ता हालेर अस्थायी बाटो बनाएका छन् । तर, बिरामी बोक्ने एम्बुलेन्स वारपार हुन नसक्दा तत्काल अस्पताल पुर्याउनुपर्ने प्रसूति, सर्पदंश, उच्च रक्तचापका बिरामीको जीवन नै जोखिममा परेको उनले बताए । 

डाइभर्सन बाढीले बगाएपछि सिराहा– राजविराजसम्म चल्ने सवारीसाधनको आवागमन बन्द भएको छ भने औरही, बरियारपट्टी, नवराजपुर, भगवानपुरसहितका पालिकाकाको सिराहा सदरमुकामसँगको सम्पर्कविच्छेद भएको छ । 

१६ मंसिर ०७९ मा दुई वर्षमा निर्माण सक्ने गरी जनकपुरस्थित सुगम निर्माण सेवाले सम्झौता गरेपछि पेटी ठेकेदारका रूपमा धनुषाकै सुप्रिया निर्माण सेवालाई जिम्मा दिएको छ । सम्झौता भएको १९ महिनाको अवधिमा पुलको दुईवटा पाइलको ढलान गरेर वैशाखको अन्तिमतिर हिँडेका पेटी ठेकेदार फर्केर नआएको वडाध्यक्ष यादवले बताए । 

सुगमले औरही गाउँपालिका– १, दरैहिया गाउँको हुलाकी सडकको बक्स कल्भर्ट र सहजाको पुल गरी भ्याटसहित ११ करोड ५४ लाख १६ हजार ३७ रुपैयाँ १६ पैसाको ठेक्का पाएको हो । 

सम्झौता सकिन पाँच महिना बाँकी, काम ४० प्रतिशत
सम्झौता सकिन पाँच महिना बाँकी रहेको सहजा खोलाको पुल निर्माण गर्न ठेकेदार कम्पनीले आलटाल गरिरहेको छ । हुलाकी सडक दुई लेनमा विस्तार भएसँगै बलान–कमला सडकअन्तर्गत औरहीको इँटाटार गाउँदेखि पश्चिमपट्टि सहजामा रहेको पुरानो पुल भत्काएर दक्षिणपट्टि बनाइएको डाइभर्सन बाढीले बगाएपछि समस्या भएको स्थानीय युवा मनोज पासवानले बताए । कुल २५ मिटर लम्बाइ र ११ मिटर चौडाइको सहजाको आरसिसी पुल निर्माण ४० प्रतिशत मात्रै सकिएको हुलाकी राजमार्ग निर्देशनालयबाट पुल निर्माणका लागि खटिएका इन्जिनियर कौशल यादवले बताए ।  

See More On

सुझावित समाचार