निवर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नक्कली भुटानी शरणार्थी, टीकापुर, पतञ्जली र बालमन्दिर जग्गा प्रकरणबारे जारी अनुसन्धान नरोक्न सुझाव दिएका छन् । गृह मन्त्रालयमा आइतबार भएको बिदाइ कार्यक्रममा उनले सरकार परिवर्तन हुने विषय अनौठो नभएको बताउँदै चर्चित काण्डहरूको निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न आग्रह गरे ।
‘हामीकहाँ सरकार परिवर्तन अनौठो कुरा नै होइन । तर, सरकार परिवर्तनको प्रभाव प्रहरी र कर्मचारी प्रशासनमा पर्नुहुँदैन । सकेसम्म नपार्ने प्रयास गर्नुहोला । सरकार परिवर्तन हुनुको, मन्त्री आउनु र जानुको प्रभाव नागरिकलाई पर्नुहुँदैन । म जानु र अर्को मन्त्री आउनुमा तपाईंहरूले खासै परिवर्तन महसुस गर्नुपर्दैन । कानुनअनुसार काम गर्न मन्त्री परिवर्तनले के फरक पार्छ र ?’ उनले भने ।
लामिछानेले निर्मला पन्त हत्या अनुसन्धान निष्कर्षमा पुग्न लागेको दाबी पनि गरे । पन्त हत्या अनुसन्धानमा नेपाल प्रहरी लागिपरेको र नतिजाको सम्बन्धमा नेपाल प्रहरी जानकार रहेको उनको भनाइ थियो । ‘मैले नबोलौँ भनेको, तर बोल्नैपर्ने विषय । निर्मला पन्तको हत्याको अनुसन्धान अत्यन्त नजिक पुगेका छौँ । यस विषयमा मलाई बारम्बार सोधियो, तर मैले बोलिनँ । रिजल्ट आओस् अनि भन्छु भन्नेमा थिएँ । सुरक्षा निकायलाई थाहा छ कि हामी कति नजिक पुगेका छौँ भन्ने । यसमा मलाई क्रेडिट चाहिएन । सबै नेपाल प्रहरीले लेओस् । कुनै नेता, मन्त्रीले क्रेडिट नपाओस्,’ उनले भने ।
१० साउन ०७५ मा कञ्चनपुरको भीमदत्त नगरपालिका– २ उल्टाखामकी १३ वर्षीया पन्तको बलात्कारपछि हत्या गरिएको थियो । साथीको घरमा ट्युसन पढ्न हिँडेकी उनको शव उल्टाखामस्थित उखुबारीमा फेला परेको थियो । घटनालाई लिएर चौतर्फी विरोध भपछि गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा छानबिन समिति बनायो । तत्कालीन आइजिपी सर्वेन्द्र खनालले तत्कालीन एआइजी धीरु बस्नेत र डिआइजी सुरज केसीको नेतृत्वमा छुट्टाछुट्टै समिति गठन गरेका थिए । त्यसपछि गृहमन्त्री बनेका लामिछानेले पनि पन्त हत्या अनुसन्धानका सम्बन्धमा छुट्टै समिति गठन गरेका थिए । तर, हालसम्म पनि परिणाम प्राप्त हुन सकेको छैन ।
बिदाइ कार्यक्रममा लामिछानेले जिबी राई पक्राउको सम्बन्धमा पनि जानकारी दिए । उनका अनुसार राईलाई पक्राउ गर्न असम्भव नभएको र यसका लागि इन्टरपोलका साथै मलेसियाका गृहमन्त्रीसँग पटक–पटक छलफल भएको बताए । ‘जिबी राईको सम्बन्धमा यहाँहरूलाई जानकारी नै छ । मैले इन्टरपोलसँग संवाद गरेको छु । मलेसियन सरकारको गृहमन्त्रीसँग दुई–दुईपटक संवाद भएको छ । केही जटिलता छन् । त्यो जटिला चिरेर पक्राउ गर्ने गृहमन्त्रीले श्रेय पाओस् । नेपाल प्रहरीले श्रेय लिओस् । मसँग भएको सूचना जतिवेला पनि म उपलब्ध गराउन तयार छु,’ उनले भने ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको ६०.७१६ किलो सुन तस्करीसँग सम्बन्धित प्रतिवेदन सुरक्षा दृष्टिकोणका कारण सार्वजनिक नगरेको लामिछानेले बताए । ‘अनुसन्धान जारी रहेका कारण सुनकाण्ड छानबिनको प्रतिवेदन सार्वजनिक नगरेकै हो । राज्यको गोपनीयता मन्त्रीको सनकको भरमा सार्वजनिक गर्नुहुँदैन,’ उनले भने । सहकारी र दुईवटा राहदानी मुद्दासँग जोडिएका लामिछानेले यस सम्बन्धमा छानबिन भए सघाउन तयार हुने स्पष्ट पारे । ‘मेराबारे पनि जबर्जस्त प्रश्न उठाइएको छ । मैले त पहिला पनि केही भनेको थिइनँ । तर, आजसम्म स्वतः प्रभावित हुनुभएको भए पनि अब मेरोबारे पनि अनुसन्धान गर्नुस् । गलत गरेको भए कानुन मलाई पनि लाग्नुपर्छ,’ उनले भने ।