अल्काराजले रक्षा गरे विम्बल्डन उपाधि

सोमबार, ३२ असार, २०८१
डिजिटल संस्करण

सेन्टर कोर्टमा आइतबार भएको पुरुषतर्फको विम्बल्डन फाइनलमा स्पेनिस खेलाडी कार्लोस अल्काराजले दोस्रो वरीयताका नोभाक जोकोभिकलाई ६–२, ६–२ र ७–६ ले निराश पारे

स्पेनिस खेलाडी कार्लोस अल्काराजले आइतबार राति विम्बल्डन ग्रान्डस्लाम टेनिस प्रतियोगिताको उपाधि रक्षा गरेका छन् । सेन्टर कोर्टमा भएको उपाधि भिडन्तमा अल्काराजले दोस्रो वरीयताका सर्बियाली खेलाडी नोभाक जोकोभिकलाई ३–० को सीधा सेटमा निराश बनाउँदै लगातार दोस्रोपटक उपाधि जितेका हुन् । एकपक्षीय फाइनलमा अल्काराज ६–२, ६–२ र ७–६ विजयी भए । पहिलो र दोस्रो सेट सहजै जितेका अल्काराजले तेस्रो सेटमाथि कब्जा जमाउन टाइब्रेकरको सहायता लिए । 

च्याम्पियन खेलाडीले तेस्रो सेटको टाइब्रेकरमा जोकोभिकालाई ७–४ को अंकमा निराश पारे । तेस्रो सेटमै अल्काराजले म्याच प्वाइन्ट गुमाएका थिए । उनल आफ्नै सर्भिस रक्षा गर्न नसक्दा खेल टाइब्रेकरमा पुगेको हो । जोकोभिकले अल्काराजलाई तेस्रो सेटको दशौँ गेममा ५–५ मा रोक्न सफल भए । त्यसपछि खेल ६–६ मा पुग्यो । टाइब्रेकरमा अल्काराजले शक्तिशाली सर्भिस र ब्याकह्यान्डको प्रदर्शन गरेका थिए । 

च्याम्पियन अल्काराजले विम्बल्डन उपाधि जित्ने सपनाजस्तै भएको बताएका छन् । ‘अन्य ग्रान्डस्लाम उपाधिभन्दा यो फरक लाग्छ, यहाँ उपाधि हात पार्नु भनेको सपनाजस्तै हो,’ खेलपछि ट्रफी चुम्दै उनले भने, ‘मैले लन्डनमा ११ वर्षको उमेरमा पनि अन्तर्वार्ता दिएको थिएँ, त्यसवेला विम्बल्डनको उपाधि जित्नु एक टेनिस खेलाडीको सपना बताएको थिएँ ।’ टाइब्रेकरको ११औँ गेममा जोकोभिकको प्रहार नेटमा लागेको थियो । त्यसपछि अल्काराजले मैदान चुम्दै खुसी मनाए । 

जोकोभिकले मौका गुमाए
हारसँगै जोकोभिकले विम्बल्डनमा सर्वाधिक आठपटकको विजेता रोजर फेडेररको कीर्तिमान बराबरी गर्ने अवसर चुकाएका छन् । साथै, उनले टेनिस इतिहासमा मार्गेट काउटले राखेकी विश्व कीर्तिमान २४ ग्रान्डस्लामको उपाधि उछिन्ने अवसर गुमाएका छन् । जोकोभिकले अहिलेसम्म २४ ग्रान्डस्लाम जितेका छन् । 

पुरुषतर्फ धेरै ग्रान्डस्लाम जित्ने खेलाडीमा उनी शीर्ष स्थानमा छन् । अल्काराजले विम्बल्डनमा लगातार १४ खेल जितेका छन् । यस वर्ष उनले फ्रेन्च ओपन पनि जितेका थिए । विम्बल्डन र फ्रेन्च ओपन कम उमेरमा जित्ने कीर्तिमान उनकै नाममा छ । सन् २०२४ को सिजनमा जोकोभिकले ग्रान्डस्लाममा गतिलो प्रदर्शन गर्न सकेका छैनन् । वर्षको पहिलो ग्रान्डस्लामका रूपमा रहेको अस्ट्रेलियन ओपनमा जोकोभिक क्वार्टरफाइनलमा जानिक सिनेरबाट पराजित भए । त्यसपछि फ्रेन्च ओपनमा घुँडामा समस्या आउँदा उनले प्रतिस्पर्धा गर्न सकेनन् । गत वर्षको विम्बल्डनको फाइनलमा अल्काराजले जोकोभिकलाई पाँच सेटमा स्तब्ध पारेका थिए ।

सुझावित समाचार