नयाँ सरकारलाई सेयर बजारको स्वागत

सोमबार, ३२ असार, २०८१
डिजिटल संस्करण

दुई ठूला दल कांग्रेस–एमाले गठबन्धन भएयता नेप्से परिसूचक २२०.५ अंकले वृद्धि

६ महिनापछि सात अर्बमाथिको कारोबार : ७ माघमा सात अर्ब ६३ करोड २८ लाख रुपैयाँको कारोबार भएयता सेयर बजारमा सात अर्बभन्दा बढीको कारोबार भएको थिएन, तर आइतबार सात अर्ब ३२ करोड ३८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । 

एक वर्षपछि २२ सय विन्दुमाथि : गत ७ साउनमा नेप्से परिसूचक २२ सय २७ दशमलव १६ विन्दुमा थियो । ८ साउनमै परिसूचक २२ सय दशमलव ५० विन्दुमा झरेको थियो । त्यसपछि परिसूचक १८ सयदेखि २१ सयको आसपासमै फन्को मारिरहेकोमा नयाँ सरकार गठनको तरंगले एक वर्षपछि सेयर बजार २२ सय विन्दुमाथि उक्लेको हो ।

नयाँ सरकार गठनको पूर्वसन्ध्यामा सेयर बजार बढेको छ । दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने सहमति गरेयता निरन्तर उकालो लागेको सेयर बजार परिसूचक नेप्से आइतबार केपी ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको खबरसँगै बढेर दुई हजार दुई सय ५७ दशमलव ५९ अंकमा पुगेको छ ।
आइतबार नेप्से ५७.५९ अंकले बढेको हो । गत बिहीबार सेयर बजार एक वर्षपछि २२ सय विन्दु नाघेर बसेको थियो । शुक्रबार प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउन नसकेपछि कामचलाउ भएका थिए । सोही दिन कांग्रेस–एमाले गठबन्धनका तर्फबाट एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पदका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेस गरेका थिए ।

आइतबार दिउँसो राष्ट्रपति पौडेलले एमाले अध्यक्ष ओलीलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेपछि सेयर बजार हरियाली भएको हो । नयाँ मन्त्रिपरिषद्मा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल अर्थमन्त्री बन्ने हल्लाले नेप्से थप उचालिएको हो । दुई ठूला दल मिलेर स्थायित्वका लागि सरकार गठन गरेको सन्देश दिएकाले लगानीकर्ता उत्साहित भएको विश्लेषकको भनाइ छ ।

आइतबार परिसूचकसँगै सेयर कारोबार पनि उच्च भएको छ । आइतबार सात अर्ब ३२ करोड ३८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । यो विगत ६ महिनायताकै ठूलो कारोबार हो । गत ७ माघमा सात अर्ब ६३ करोड २८ लाख रुपैयाँको कारोबार भएको थियो । त्यसयता सेयर बजारमा सात अर्बभन्दा बढीको कारोबार भएको छैन । आइतबार कुल ९५ हजार एक सय ८८ पटकमा एक करोड ७६ लाख ५७ हजार दुई सय पाँच कित्ता सेयर किनबेच भएको छ । 

आइतबारको कारोबारमा सबैभन्दा बढी बैंकिङ र जलविद्युत् समूहका परिसूचकमा वृद्धि भएको छ । बैंकिङ समूहको परिसूचक ३.७४ प्रतिशत र जलविद्युत् समूहको ३.३० प्रतिशत विन्दुले बढेको नेप्सेले जनाएको छ । रिडी पावर कम्पनी र मान्डु हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको थियो ।  

त्यस्तै, एक वर्षपछि सेयर बजार २२ सय विन्दुमाथि उक्लेको हो । गत वर्ष ७ साउनमा नेप्से परिसूचक २२२७.१६ विन्दुमा थियो । दोस्रो दिन ८ साउनमै परिसूचक २२००.५० विन्दुमा झरेको थियो । त्यसपछि भने परिसूचक १८ सयदेखि २१ सयको आसपासमै फन्को मारिरहेको थियो ।

नयाँ सरकारले अर्थतन्त्र सुधार्छ भन्ने अपेक्षा हुन्छ : नीरज गिरी, पूर्वकार्यकारी निर्देशक, धितोपत्र बोर्ड 
सेयर बजार अझै पनि स्पेक्युलेटिभ (सट्टाबाजी) छन् । बजारमा लगानीकर्ताभन्दा सेयर कारोबारी हाबी छन् । अहिले पनि भएको त्यही हो । पहिला पनि नयाँ सरकार आउँदा बजार बढ्ने गरेको छ । बजार भनेको विश्वास पनि हो । नयाँ सरकार आएपछि अर्थतन्त्रमा सुधार हुन्छ भन्ने अपेक्षा बढाएर पनि बजारलाई बढाउने प्रवृत्ति छ । 

१६ असारयता नेप्से २२०.५ अंकले वृद्धि
१६ असारमा कांग्रेस–एमाले गठबन्धन हुने विषय बाहिर आएपछि सेयर बजार निरन्तर उक्लिँदै गइरहेको हो । १७ असारमा १६.२९ अंकले बढेर परिसूचक दुई हजार ५३ दशमलव ३८ विन्दुमा रोकिएको थियो । त्यसपछि भने बढ्ने–घट्ने भइरहेको सेयर बजार २८ असारमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विश्वासको मत गुमाएपछि कारोबार भएको पहिलो दिन आइतबार २.४० प्रतिशतले बढेको हो । राजनीतिमा ‘उथलपुथल’ भएको १६ असारयता परिसूचक २२०.५ अंकले बढेको छ ।

सुझावित समाचार