- आक्रमणका संदिग्ध २० वर्षीय युवक थमस म्याथ्यु क्रुक्सलाई अमेरिकी सेक्रेट सर्भिसका अधिकारीहरूले घटनास्थलमै गोली हानेर हत्या गरेका छन्
- अमेरिकाको स्थापना भएदेखि हालसम्म चार राष्ट्रपति र एकजना उम्मेदवारको हत्या
अमेरिकी पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या गर्ने प्रयास भएको छ । पेन्सिल्भेनियामा आयोजित एक चुनावी र्यालीमा गोली प्रहार हुँदा ट्रम्प घाइते भएका छन् । गोली प्रहारपछि उनको दायाँ कानबाट रगत आएको थियो । ट्रम्पलाई गोली प्रहार गर्ने संदिग्ध व्यक्तिको नाम थमस म्याथ्यु क्रुक्स रहेको अमेरिकी गुप्तचर संस्था एफबिआईले जनाएको छ । उनी सुरक्षा कारबाहीमा तत्कालै मारिएका थिए । अन्दाजी २० वर्षका उनी पेन्सिल्भेनियाको बेथल पार्कका निवासी रहेको जनाइएको छ । बेथल पार्क घटनास्थलबाट झन्डै ७० किलोमिटर टाढा पर्छ ।
हत्या गर्ने उद्देश्यले भएकोे उक्त घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट सुरक्षित क्षेत्रतर्फ लगिएको थियो । स्थिति नियन्त्रणमा लिनुअघि पटक–पटक गोली चलेको थियो । गोलीको आवाज आएपछि सुरक्षाकर्मीहरूले ट्रम्पलाई तत्कालै मञ्चबाट निकालेर गाडीतर्फ लगेका थिए ।
गोली प्रहारपछि आफैँले खोलेको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा ट्रम्पले आफू ‘सकुशल रहेको’ र स्थानीय स्वास्थ्य संस्थाले आफ्नो उपचार गरिरहेको उल्लेख गरेका छन् । ‘र्यालीमा सुइँय गरेको आवाज सुन्नेबित्तिकै मलाई केही गडबड छ भन्ने लाग्यो, गोली चलेको र मेरो छाला खुइल्याउँदै गोली गएको मलाई महसुस भयो,’ ट्रम्पले लेखेका छन्, ‘धेरै रगत बगेपछि के भएको हो भन्ने मैले थाहा पाएँ । उनलाई बचाउन सुरक्षा अधिकारीहरू दौडादौड गरेको दृश्यबीच उनको कान र अनुहारमा रगत बगेको स्पष्ट रूपमा देखिएको थियो ।
ट्रम्पमाथि भएको हमलाको राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिसन, पूर्वराष्ट्रपतिहरू र उपराष्ट्रपतिहरूले निन्दा गरेका छन् । राष्ट्रपति बाइडेनले अमेरिकामा यस्ता खालका कुनै पनि हिंसात्मक घटनालाई स्थान नदिइने बताएका छन् । हिंसात्मक घटनाविरुद्ध एकजुट हुनुपर्ने उनले बताए । पूर्वराष्ट्रपति बाराक ओबामाले पनि घटनाको निन्दा गरेका छन् । लोकतन्त्रमा कुनै पनि राजनीतिक हिंसाको स्थान नरहेको उनले बताएका छन् ।
मारिए संदिग्ध आक्रमणकारी
संदिग्ध आक्रमणकारीलाई अमेरिकी सेक्रेट सर्भिसका अधिकारीहरूले गोली हानेर हत्या गरिदिएको उक्त निकायका प्रवक्ता एन्थोनी गुग्लिएल्मीले बताए । गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका पनि गुग्लिमएल्मीले बताए । अमेरिकी गुप्तचर निकाय एफबिआईले ट्रम्पमाथि गोली चलाउने आक्रमणकारीको पहिचान खुलेको र उनी पेन्सिलभेनियाका टोमस म्याथ्यु क्रुप्स रहेको जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएको छ ।
बन्दुकधारीले हातमा राइफल लिएर अग्लोस्थानबाट बन्दुक तेस्र्याइरहेको शनिबार अमेरिकी प्रसारक टिएमजेडद्वारा सार्वजनिक भिडियोमा देखाइएको छ । भिडियोमा कथित आक्रमणकारी छतमा सुतेर ट्रम्पतर्फ राइफल लक्षित गरेको देखिन्छ । ‘आक्रमणकारीको लामो खैरो कपाल छ । उसले खैरो सर्ट–पाइन्ट लगाएको देखिन्छ,’ टिएमजेडले भिडियोलाई उद्धृत गर्दै भनेको छ । प्रसारित भिडियोमा ती व्यक्तिले गोली चलाएको देखाइएको छैन । तर, बन्दुक चलेपछि मानिसहरू बोलेको आवाज सुनिन्छ । ‘ऊ यस दिशामा फर्किरहेको छ, सावधान रहनुहोस् साथीहरू,’ एक व्यक्तिले भिडियोमा भन्दै गरेको आवाज सुनिएको छ । एक टिकटक प्रयोगकर्ताले पोस्ट गरेको भिडियोमा धेरैपटक गोलीको आवाज सुनेपछि ट्रम्पले आफ्नो दाहिने कान छोपेको देखिएको छ । सार्वजनिक भिडियोलाई स्वतन्त्र रूपमा पुष्टि गर्न भने बाँकी छ ।
आक्रमणको विश्व समुदायले गर्यो निन्दा
ट्रम्पमाथि भएको गोली आक्रमणलाई लिएर विश्व समुदायले निन्दा गरेको छ । विश्वका नेताहरूले आक्रमणको घटनाले आफूहरू स्तब्ध भएको प्रतिक्रिया व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको कडा शब्दमा निन्दा गरेका उनका प्रवक्ताले बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपति बाराक ओबामा र बिल क्लिन्टनलगायत अमेरिकी राजनीतिज्ञहरूले आक्रमणको निन्दा गर्दै राजनीतिमा हिंसाका लागि कुनै स्थान नभएको बताएका छन् । अर्बपति एलन मस्कले ट्रम्पको स्वास्थ्यलाभको कामना गर्दै आक्रमणको विरोध गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणको विरोध गर्दै राजनीति र लोकतन्त्रमा हिंसाको कुनै स्थान हुन नहुने बताएका छन् । उनले भने, ‘अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि भएको आक्रमण दुःखद घटना हो । राजनीति र लोकतन्त्रमा हिंसाको कुनै स्थान हुँदैन ।’
त्यसैगरी, चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी रिपब्लिकन पार्टीका नेता तथा नयाँ राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार ट्रम्पमाथि भएको गोली आक्रमणको निन्दा गरेका छन् । उनले घाइते ट्रम्पप्रति सहानुभूति प्रकट गरेका चीनको विदेश मन्त्रालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जर्मनीका चान्सलर ओलाफ स्कोल्जले पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पको हत्या प्रयास ‘घृणित’ भएको बताए । स्कोल्जले एक्समा लेखेका छन्, ‘अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पमाथिको आक्रमण निन्दनीय छ । उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । यस्ता हिंसात्मक गतिविधिले लोकतन्त्रलाई खतरामा पार्छ ।’
बेलायती प्रधानमन्त्री कियर स्टार्मरले आइतबार अमेरिकी रिपब्लिकन पार्टीको चुनाबी र्यालीमा भएको दृश्य देखेर आफू स्तब्ध भएको बताए । ‘कुनै पनि प्रकारको राजनीतिक हिंसा हाम्रो समाजमा अस्वीकार्य छ,’ उनले भने ।
फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले पूर्वराष्ट्रपतिको हत्या प्रयासलाई ‘त्रासदीपूर्ण घटना’ भन्दै ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पमाथि भएको आक्रमणले आफू र पत्नी सारालाई स्तब्ध बनाएको बताए । ‘हामी उहाँको सुरक्षा र शीघ्र स्वास्थ्यलाभका लागि प्रार्थना गर्दछौँ,’ नेतान्याहुले भने ।
इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले पेन्सिलभेनियाको घटना दुःखद भएको र यसबारे आफूले जानकारी प्राप्त गरिराखेको बताइन् । उनले ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेकी छिन् । ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले ट्रम्पमाथि भएको आक्रमणको ‘लोकतन्त्र र राजनीतिक संवादका सबै समर्थकहरूले कडा निन्दा गर्नुपर्ने’ बताएका छन् ।
युरोपेली संघका विदेश नीति प्रमुख जोसेफ बोरेलले पनि उक्त आक्रमणको निन्दा गरेका छन् । ‘एकपटक फेरि हामीले राजनीतिक प्रतिनिधिविरुद्धको हिंसा देखिरहेका छौँ, उनले भने । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी, न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस लक्स र जापानी प्रधानमन्त्री फुमियो किसिदाले पनि उक्त आक्रमणको निन्दा गरेका छन् ।
अमेरिकी राष्ट्रपति र राष्ट्रपतिका उम्मेदवारमाथि भएका हत्या प्रयास
सन् १८६५ : अब्राहम लिंकन (१६औँ राष्ट्रपति) वासिङटन डिसीमा आफ्नी पत्नीसँग नाटक हेर्दै गर्दा लिंकनको हत्या भएको थियो । उनलाई जोन विल्क्स बुथले गोली हानेका थिए । लिंकनको उपचारको क्रममा भोलिपल्ट बिहान मृत्यु भयो । बुथ १२ दिनपछि भर्जिनियाको एउटा गोदाममा लुकेको अवस्थामा फेला परेको थियो, जहाँ उनलाई गोली हानी हत्या गरिएको थियो ।
सन् १८८१ : जेम्स गारफिल्ड (२०औँ राष्ट्रपति) पदभार ग्रहण गरेको ६ महिनापछि वासिङटन डिसीमा एक रेल स्टेसनमा हिँड्दा गोली प्रहार भएको थियो । गम्भीर घाइते उनको केही हप्तापछि मृत्यु भयो । आक्रमणका दोषी चाल्र्स गुइटाउलाई अर्को वर्ष मृत्युदण्ड दिइयो ।
सन् १९०१ : विलियम म्याककिन्ले (२५औँ राष्ट्रपति) न्युयोर्कमा भाषण दिएपछि नजिकैबाट उनीमाथि गोली हानिएको थियो । गम्भीर घाइते म्याककिन्लेकोे आठ दिनपछि मृत्यु भयो । डेट्रोइटका २८ वर्षीय पुरुष लियोन एफ जोल्गोजले गोली चलाएको स्वीकार गरेका थिए । हत्याको केही हप्तापछि उनलाई मृत्युदण्ड दिइएको थियो ।
सन् १९१२ : थियोडोर रुजबेल्ट (उम्मेदवार) रुजबेल्ट एक पूर्वराष्ट्रपतिको रूपमा ह्वाइट हाउसका लागि प्रतिस्पर्धामा रहिरहेका वेला उनलाई मिलवाकीमा गोली प्रहार भएको थियो । गोली लागेर बाँचे पनि गोली उनको छातीमा जीवनभर रह्यो ।
सन् १९३३ : फ्रान्कलिन रुजबेल्ट (३२औँ राष्ट्रपति) मियामीमा एक इटालियन आप्रवासी ज्युसेप जांगाराले रुजबेल्टमाथि हत्या प्रयास गरेका थिए । आक्रमणमा रुजबेल्टलाई कुनै हानि भएन, तर सिकागोका मेयर एन्टोन सेर्माक भने मारिए ।
सन् १९६३ : जोन एफ केनेडी (३५औँ राष्ट्रपति) केनेडीलाई डाउनटाउन डलासमा आयोजित सवारी र्यालीमा उनीमाथि गोली प्रहार भएको थियो । आक्रमणकारीले उनलाई टाढाबाट उच्च शक्तिको राइफलबाट गोली प्रहार गरेको थियो । आक्रमणको केही घन्टापछि अस्पतालमा उनको मृत्यु भयो । आक्रमणमा संलग्न रहेको अभियोगमा प्रहरीले ली हार्वे ओसवाल्डलाई पक्राउ गरेको थियो । गिरफ्तारीको दुई दिनपछि ओसवाल्डलाई जेलमा लैजाँदै गर्दा डलास नाइट क्लबका मालिक ज्याक रुबीले उनलाई गोली हानेका थिए ।
सन् १९६८ : रोबर्ट एफ केनेडी (उम्मेदवार) जोन एफ केनेडीका कान्छो भाइ डेमोक्रेटिक मनोनयनका लागि प्रचार गर्दै थिए र त्यतिवेला सन् १९६८ मा क्यालिफोर्निया प्राथमिक चुनाव जितेका थिए । विजयी भाषण दिएलगत्तै उनलाई सिरहानले गोली हानेर हत्या गरेका थिए । हत्यारालाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाइयो। त्यो जेलमा जीवनमा परिणत भयो । सन् २०२३ मा रिहाइको लागि उनको निवेदन अस्वीकार भएको थियो ।
सन् १९७२ : जर्ज वालेस (उम्मेदवार) वालेस डेमोक्य्राटिकतर्फबाट राष्ट्रपति पदको उम्मेदवारीको दौडमा थिए । सोही वेला मेरिल्यान्डमा एक चुनावी अभियान गोली प्रहार भयो । उनलाई चारपटक गोली लागेको थियो र एउटा गोली उनको स्पाइनल कोलुममा प्रहार भएको थियो । सोही कारण उनी जीवनभर पक्षाघातबाट पीडित भए । उनलाई गोली हान्ने व्यक्ति आर्थर ब्रेमर थिए। उनलाई दोषी ठहर गरी जेल सजाय सुनाइयो । उनी सन् २००७ मा रिहा भए ।
सन् १९७५ : जेराल्ड फोर्ड (३८औँ राष्ट्रपति) क्यालिफोर्नियामा (सेक्रामेन्टो र सान फ्रान्सिस्कोमा) १७ दिनभित्र भएका दुईवटा हत्या प्रयासबाट जोगिए । दुवै हत्या प्रयास लिनेट फ्रोम र सारा जेन मुर (दुवै महिला)ले गरेका थिए । उनीहरूले आजीवन कारावासको सजाय पाए ।
सन् १९८१ : रोनाल्ड रेगन (४०औँ राष्ट्रपति) रेगनलाई वासिङटनमा भाषण गरिरहेका वेला जोन हिन्क्ले जुनियरले गोली हानेका थिए । गोलीले मुस्किलले मुटुको छेवैनजिक पुगेर रेगनको बायाँ फोक्सो छेड्यो । रेगन आफ्नो जीवनको प्रयासबाट बचे । हिन्कलेलाई गिरफ्तार गरियो र पागलपनको कारण दोषी ठहर गरिएन । उनलाई मानसिक अस्पतालमा राखिएको थियो ।
सन् १९९४ : बिल क्लिन्टन (४२औँ राष्ट्रपति) क्लिन्टन ह्वाइटहाउसभित्र थिए जब फ्रान्सिस्को मार्टिन डुरानले सेमीअटोमेटिक राइफल प्रयोग गरेर भवनमा गोली हाने । क्लिन्टनलाई कुनै चोट लागेन । डुरानलाई राष्ट्रपतिको हत्याको प्रयास गरेको अभियोगमा दोषी ठहर गरी ४० वर्षको जेल सजाय सुनाइएको थियो ।
सन् २००५ : जर्ज डब्लु बुस (४३औँ राष्ट्रपति) बुश जर्जियाका राष्ट्रपति मिखाइल साकासभिलीसँग टिबिलिसीमा एक र्यालीमा भाग लिइरहेका थिए । सोही वेला भ्लादिमिर आरुट्युनियन नामका व्यक्तिले पोडियमतर्फ हात ग्रेनेड प्रहार गरे। त्यो विस्फोट भएन र कसैलाई चोटपटक लागेन । आरुट युनियनलाई आजीवन जेल सजाय सुनाइएको थियो ।
– अलजजिराबाट