कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा हुने भएको छ। कर्णाली प्रदेश सरकारले साउन १ गते साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा बिदा दिने निर्णय गरेको हो।
प्रदेश मन्त्रिपरिषद्को वैशाख १७ गतेको निर्णयअनुसार प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थामा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव लीलाप्रसाद ढकालले जानकारी दिए।
उक्त बैठकले विभिन्न मितिमा प्रदेशभित्र सार्वजनिक बिदाको सूची जारी गरेको थियो। सरकारले कर्णालीका १० वटै जिल्लामा लागू हुने गरी ६ वटा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
कर्णाली प्रदेशको राजपत्रमा प्रकाशित सूचनाअनुसार जुम्लाबाहेक नौ जिल्लामा असार १५ गते तथा जुम्लामा चैत १२ गते राष्ट्रिय धान दिवसको अवसरमा बिदा दिइने उल्लेख छ।
साउन १ गते साउने संक्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवस, चैतेदसैँ र रामनवमीका दिनमा सरकारले प्रदेशभरि नै बिदा दिने निर्णय गरेको थियो।
यस्तै, असोज कृष्ण त्रयोदशीमा जुम्लाका प्रादेशिक र स्थानीय तहका कार्यालयका लागि चन्दननाथ मन्दिरको लिंगाे बोक्ने मेलाको अवसरमा बिदा दिने गरेको छ।