सन् २०१६ : फ्रान्सेली सहर नाइसमा अतिवादी हमला हुँदा ८५ जनाको मृत्यु हुनुका साथै ३०० जनाभन्दा बढी घाइते । एउटा कार्यक्रम मनाइरहेका वेला आक्रमणकारीले १९ टनको ट्रक एउटा भिडमा जोताएको थियो । आक्रमणकारीलाई प्रहरीले गोली हानेर हत्या गरिदिएको थियो ।
सन् १७८९ : आजकै दिन पेरिसको बाहिरी भागमा अवस्थित किल्लायुक्त कारागार बास्टिलमा भिडले आक्रमण गरेर कब्जामा लिएका थिए । फ्रान्सेली क्रान्तिको प्रस्थानविन्दु मानिने यस घटनामा प्रदर्शनकारी खासमा बास्टिलमा राखिएको हातहतियार गोलीगठ्ठा माग्न गएका थिए । तर, गार्डले प्रतिरोध गरेपछि भिडले उक्त जेललाई कब्जामा लिए । त्यसलाई पुरानो शासनको अन्त्यको प्रतीक मानिन्छ र आज पनि फ्रान्समा आजसम्म राष्ट्रिय दिवसका रूपमा मनाइन्छ ।
सन् १९५८ : इराकी सेनाका एक ब्रिगेडियर अब्द अल–करिम कासिमले इराकमा सैन्य विद्रोह गरे । कुका क्रममा इराकी राजा फैसल द्वितीय, युवराजधिराज अब्द अल–इलाह र प्रधानमन्त्री नुरी अल–साइद मारिए । कुलगत्तै कासिम प्रधानमन्त्री बनेका थिए ।
सन् १९६४ : अमेरिकाले भियतनाममा ६ सयभन्दा बढी सेना पठायो ।
सन् १९७५ : अरब क्षेत्रका संसद्मा पहिलोपटक महिला उम्मेदवार निर्वाचित । इजिप्टकी राव्या अतेया देशको नेसनल एसेम्बलीमा निर्वाचित हुने पहिलो महिला बनिन् ।
सन् २०१७ : गणित अध्ययन क्षेत्रको ‘नोबेल पुरस्कार’ भनिने फिल्ड मेडलबाट सम्मानित पहिलो महिला तथा पहिलो इरानी गणितज्ञ मर्यम मिरजाखानीको ४० वर्षको उमेरमा निधन । चार वर्षअघि स्तनबाट सुरु भएको क्यान्सर अन्य अंगमा फैलिएर उनको मृत्यु भएको थियो ।