सिराहाको धनगढीमाई नगरपालिकाको बजेट तथा कार्यक्रम रोकिएको छ । १२औँ नगर सभाअन्तर्गत शुक्रबार पारित गर्न लागिएको बजेट विवाद भएपछि रोकिएको हो ।
चालू आर्थिक वर्ष ०८०/८१ को योजना तथा कार्यक्रमबाट अल्या (अन्यत्रबाट ल्याइएको) भई आएको रकम वडास्तरमा भएका विकास निर्माण सम्पन्न भए पनि भुक्तानी नपाएकालाई भुक्तानी सुनिश्चितताको माग गर्दै वडाध्यक्षहरूले कुरा उठाएपछि विवाद भएको हो । असन्तुष्ट वडाध्यक्षहरूले काम गरेकाको भुक्तानी दिएपछि बाँकी बजेट अधुरो योजनाको निरन्तरता र नगरस्तरीय योजनाका रूपमा वडागत हिसाबले छुट्याइनुपर्ने विषयमा सहमति जुट्न सकेको थिएन ।
‘नगरपालिकामा ९० जनाभन्दा बढी करारका कर्मचारी हुँदाहुँदै र उपप्रमुखले आफ्ना मान्छेलाई सचिवालय सहयोगीका रूपमा राख्न जालझेल गरे,’ ४ नं का वडाध्यक्ष ओमप्रकाश यादवले भने, ‘नगरको आन्तरिक स्रोत न्यून छ, भएकै कर्मचारीबाट व्यवस्थापन गरौँ भन्दा नगर सभाको निर्णयका रूपमा कर्मचारी व्यवस्थापन गर्ने विषय घुसाइएपछि विमति राखेका हौँ ।’ उनका अनुसार र उपप्रमुखको मिलेमतोमा अल्याको बजेट नगरस्तरीय योजनाका रूपमा राख्न जोडबल गरेपछि विवाद भएको हो ।
नगरपालिकाको आन्तरिक स्रोतमा व्ययभार बढ्ने भएकाले कार्यपालिकाको बैठकमा छलफलको विषयबाट नै हटाइएको नयाँ कर्मचारी भर्नालाई ले जबर्जस्ती सभामा पारित गर्न खोजेको १ नं वडाध्यक्ष सूर्यनारायण यादवले बताए । त्यसका साथै, कम्प्युटर सहायक अपरेटरका रूपमा उपप्रमुखले आफ्नो मान्छे राख्न खोजेपछि आफूहरूको विरोध रहेको उनले बताए ।
नगर सभामार्फत विभिन्न ३७ बुँदासहित कार्यालय सञ्चालन र व्यवस्थापनका लागि १९ करोड ५० लाख रुपैयाँ, वडागत बजेट आठ करोड ४० लाख, विषयगत शाखा तीन करोड ६० लाख, समपूरक कोष एक करोड, नगरस्तरीय बजेट ६ करोड ५० लाखको प्रस्तावित बजेट विवाद भएपछि अर्को सूचना नभएसम्मका लागि रोकिएको छ ।
अल्याको बजेटबाट १५–१५ लाख रुपैयाँका दरले वडाहरूलाई नै दिने, नगर क्षेत्रका विभिन्न बजारहरूमा सुरक्षाका लागि सिसी क्यामरा जडान, अधुरो विद्यालय भवन निर्माण, सडक कालोपत्रे, गत आवको भुक्तानी, सीपमूलक तालिम, आवश्यक ठाउँमा ह्यान्डपाइप जडानलगायत कामका लागि नगरस्तरीय बजेट छुट्याइएको, तर वडाध्यक्षहरूको विमति रहेकाले पुनः छलफल गरी बजेट र कार्यक्रम पारित गरिने बताए ।