सिराहामा एक हप्ताको अवधिमा करेन्ट लागेर एकजना भारतीयसहित चारजनाको मृत्यु भएको छ।सिराहाको गोलबजार नगरपालिका, ८ चोहर्वामा इन्टरनेटको राउटर मर्मत गर्ने क्रममा बिहीबार करेन्ट लागेर एक युवकको मृत्यु भयो।
चोहर्वा चोकस्थित इलेक्ट्रोनिक्स पसलमा राखेको इन्टरनेटको राउटरबाट पसलपछाडि रहेको घरमा तार तानेर जडान गरिएको राउटर मर्मत गर्ने क्रममा करेन्ट लागेर घाइते भएका २५ वर्षीय ईश्वरप्रसाद सिंहको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएका सिंहलाई तत्काल उपचारका लागि गोलबजारस्थित लाइफ लङ हेल्थ केयर सेन्टरमा पुर्याइएको भए पनि बाटोमै उनको मृत्यु भइसकेको थियो।
ससुराली आएका भारतीयको मृत्यु
छिमेकी मुलुक भारतसँग सिमाना जोडिएको औरही गाउँपालिका- ४ कमलपुरमा करेन्ट लागेर ससुराली आएका भारतीय पुरुषको मृत्यु भएको छ। मृतक छिमेकी मुलुक भारतको बिहार राज्यअन्तर्गत जिल्ला मधुवनी ग्राम महुलियाका करिब ५५ वर्षीय मल्ला यादव रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
प्रहरीका अनुसार शुक्रबार बिहान कमलपुर गाउँका धुथहर यादवका ज्वाइँ रहेका यादव शुक्रबार बिहान ८ बजेतिर विद्युतीय मोटर जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसअघि गत शनिबार पनि गोलबजार नगरपालिका- ५ निपाने टोलका करिब ७२ वर्षीय कपिलदेव साहको करेन्ट लागेर मृत्यु भएको थियो। आफ्नै घरनजिक रहेको चापाकलमा जडान गरिएको विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएका उनको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
त्यही दिन जिल्लाको दक्षिणी सीमावर्ती बरियारपट्टी गाउँपालिका- ४ तेनुवापट्टीमा खेतमा जडान गरेको विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका करिब ४० वर्षीय श्यामसुन्दर यादवको लहानमा उपचारको क्रममा मृत्यु भएको थियो।