परराष्ट्रसचिव सेवा लम्सालले नयाँदिल्लीमा भारत र बंगलादेशका विदेशमन्त्री तथा भारतीय नवनियुक्त विदेशसचिवसँग भेटवार्ता गरेकी छिन् । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)का परराष्ट्रमन्त्रीहरूको दोस्रो अनौपचारिक बैठकमा सहभागी हुन लम्साल बुधबारदेखि दिल्लीमा छिन् ।
बिमस्टेकको परराष्ट्रमन्त्रीस्तरीय अनौपचारिक बैठक (रिट्रिट) बिहीबारै सुरु भएको छ । बैठकपछि साइडलाइनमा भेटवार्ता भएका हुन् । नेपाली दूतावासका अनुसार उनले भारतीय विदेशमन्त्री डा. एस जयशंकर, बंगलादेशका विदेशमन्त्री डा. हसन महम्मुद र नवनियुक्त भारतीय विदेशसचिव विक्रम मिश्रीसँग बेग्लाबेग्लै भेटवार्ता गरेकी छिन् । भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समा नेपाल–भारत सहकार्यको निरन्तर अभिवृद्धिका विषयमा छलफल भएको बताएका छन् । उनले परराष्ट्रसचिव लम्साललाई स्वागत गर्न पाउँदा खुसी व्यक्त गरेको पनि उल्लेख गरेका छन् । नवनियुक्त भारतीय विदेशसचिव मिश्रीलाई लम्सालले बधाई दिएकी छिन् ।
जयशंकरले बिमस्टेकका सदस्य मुलुक भुटान, म्यानमार, बंगलादेशका विदेशमन्त्रीसँग पनि बिहीबारै भेटेका छन् । परराष्ट्रसचिव लम्साल तथा बिमस्टेक सदस्य मुलुकका विदेशमन्त्रीहरूले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सामूहिक शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ । लम्सालले नेपालबाट सहभागिता जनाउने भएकी छिन् ।
बैठकमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई निमन्त्रणा थियो । तर, शुक्रबार सरकारले विश्वासको मत नपाउने अवस्थासँगै पदमुक्त हुनुपर्ने अवस्थाका कारण श्रेष्ठको सट्टा परराष्ट्रसचिव लम्साल सहभागी भएकी हुन् । विमस्टेक परराष्ट्रमन्त्रीहरूको पहिलो अनौपचारिक बैठक (रिट्रिट) एक वर्षअघि थाइल्यान्डले बैंककमा आयोजना गरेको थियो । भारतले आयोजना गरेको यो दोस्रो बैठक हो ।