प्रेरक प्रसंग : सर्वश्रेष्ठ धनुर्धर

शुक्रबार, २८ असार, २०८१
डिजिटल संस्करण

धनुवाणसम्बन्धी अनेकौँ प्रतियोगिता जितेपछि एक युवकले आफूलाई सबैभन्दा ठूलो धनुर्धारी मान्न थाले । जहाँ पुगे पनि उनी मानिसलाई आफूसँग धनुवाणमा प्रतिस्पर्धा गर्न चुनौती दिन्थे र उनीहरूलाई हराएर खिल्ली उडाउँथे ।

एकपटक ती युवकले धनुर्विद्याका गुरुलाई नै धनुवाण प्रतियोगिताका लागि चुनौती दिए । गुरुले युवकको चुनौती स्वीकार गरे । प्रतियोगिता सुरु भयो । आफ्नो पहिलो प्रयासमा युवाले लक्ष्यको बीचमा निसाना प्रहार गरे र अर्को प्रहारमा उनले लक्ष्यमा लागेको पहिलो तीरलाई बीचबाट भेदन गरे । आफ्नो क्षमतामा गर्व गर्दै युवकले प्रश्न गरे– गुरु, के तपाईं योभन्दा राम्रो गर्न सक्नुहुन्छ ? सक्नुहुन्छ भने प्रमाणित गर्नुहोस्, होइन भने हार स्वीकार गर्नुहोस् । गुरुले युवकलाई आफ्नो पछि आउन इसारा गरे । एकैछिनमा गुरु एक गहिरो खोँचनजिक पुगे । खोँच देख्दा युवक त्रसित भए । उनले भने– गुरु हामी कता जाँदै छौँ ? गुरुले खोँचको बीचमा बनेको एउटा जीर्ण पुल देखाउँदै भने– चिन्ता नगर बाबु, हामी लगभग पुग्यौँ । अब यो पुलको बीचमा पुगेर लक्ष्य भेदन गर्नुपर्छ । दुई पहाड जोड्न खोँचमाथि काठको पुल बनाइएको थियो । गुरुले पुलको बीचमा पुगेर टाढाको रुखको टोड्कामा निसाना लगाए । उनले भने– ल अब तिमी पनि त्यहीँ निसाना लगाएर आफ्नो दक्षता प्रमाणित गर । युवक डराउँदै अघि बढे र बडो मुस्किलले पुलको बीचमा पुगे । उनले निसाना त लगाए तर वाण लक्ष्यको नजिक पनि पुगेन । युवकले हार स्वीकारे । गुरुले भने– बाबु, तिमीले धनु र वाणलाई त नियन्त्रणमा लिएका छौ तर जुनसुकै अवस्थामा पनि निसाना प्रहार गर्न आवश्यक पर्ने मनमा भने अझै तिम्रो नियन्त्रण छैन । जबसम्म मानिसमा सिक्ने जिज्ञासा रहन्छ, तबसम्म उसको ज्ञान बढ्छ, तर जब उसमा श्रेष्ठ बन्ने अहंकार बढ्छ, तब पतन सुरु हुन्छ । 
युवकले गल्ती महसुस गरेर गुरुसँग माफी मागे । उनले भविष्यमा कहिल्यै आफ्नो कर्ममा घमण्ड नगर्ने प्रण गरे । 
 

सुझावित समाचार