चक्रपथका तीन अकासे पुल पाँच वर्षदेखि अलपत्र

बिहिबार, २७ असार, २०८१
डिजिटल संस्करण

एक वर्षमै बनिसक्नुपर्ने सम्झौता भए पनि हालसम्म ३० प्रतिशत काम, बजेट अभावले काम गर्न नसकेको आयोजनाको दाबी

उपत्यका सडक विस्तार आयोजनाका प्रमुख कृष्ण ओझा भन्छन्- सरकारले एकमुस्ट बजेट व्यवस्था नगर्दा पुल निर्माणमा ढिलाइ भएको हो । सुरुको ठेक्कामा प्राविधिक गडबडी भयो, त्यसपछि फेरि भत्काएर बनाउनुपर्ने भयो, ठेकेदारले भत्काएर बनायो, तर थप काम गर्न बजेट भएन । अर्थ मन्त्रालयले बजेट समयमै नदिँदा काम पनि ढिलो भएको हो ।

चक्रपथको ललितपुर खण्डमा निर्माणाधीन तीन स्थानका अकासे (पैदलयात्री) पुल वर्षौंदेखि अलपत्र छन् । पुल निर्माणका लागि सुरुमा बजेट निकासा भए पनि थप कामका लागि अर्थ मन्त्रालयले रकम निकासा नगर्दा बल्खु, सानेपा र महालक्ष्मीस्थानमा निर्माण सुरु गरिएका पुल अलपत्र परेका हुन् । 

उपत्यका सडक विस्तार आयोजनाले वैशाख ०७५ देखि निर्माण सुरु गरेको यी पुलको भौतिक प्रगति पाँच वर्षमा जम्मा ३० प्रतिशत छ । हालसम्म तीनवटै पुलको फाउन्डेसन र सबस्टेसन मात्रै तयार भएको छ । आयोजनाले फाउन्डेसन र सबस्टेसन निर्माण ०७७ मै सकेको थियो । तर, त्यसपछि बजेट नहुँदा बाँकी काम गर्न नसकिएको आयोजनाको भनाइ छ । ०७७ मा निर्माण भएका पुलका फाउन्डेसन र सबस्टेसन अहिले अलपत्र अवस्थामा छन् । थप कामका लागि बजेट अपुग भएको आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख कृष्ण ओझाका अनुसार सरकारले एकमुष्ठ बजेट व्यवस्था नगर्दा पुल निर्माणमा ढिलाइ भएको हो । ‘सुरुको ठेक्कामा प्राविधिक गड्बडी भयो, त्यसपछि फेरि भत्काएर बनाउनुपर्ने भयो, ठेकेदारले भत्काएर बनायो, तर थप काम गर्न बजेट भएन,’ उनले भने, ‘अर्थ मन्त्रालयले बजेट समयमै नदिँदा काम पनि ढिलो भएको हो ।’ उनका अनुसार हालसम तीनवटा पुल निर्माणमा सात करोड ५० लाख खर्च भएको छ । यसमध्ये तीन करोड ठेकेदार कम्पनीलाई बक्यौता तिर्नुपर्ने अवस्था छ । 

कोटेश्वर–कलंकी चक्रपथ विस्तारपछि पैदलयात्रुलाई सडक वारपार गर्न असहज भएको भन्दै सडक विभागले उपत्यका सडक विस्तार आयोजनामार्फत तीनवटा अकासे पुल निर्माण थालेको थियो । सात वर्षअघि नै कोटेश्वर–कलंकी खण्ड तयार भएको थियो । तर, यस खण्डमा पैदलयात्रुलाई मुख्य सडक वारपार गर्न जोमिख छ । ठाउँठाउँमा जेब्राक्रससमेत राखिएको छैन । यही कारण ०७५ मा आयोजनाले एक वर्षको समयसीमा तोक्दै पुल निर्माणका लागि ठेक्का लगाएको थियो । तर, हालसम्म चारपटक म्याद थपिसक्दा पनि पुल निर्माणको भौतिक प्रगति जम्मा ३० प्रतिशत छ । पछिल्लो समय पुस ०८० मा भएको सम्झौताअनुसार पुस ०८१ मा सकिसक्नुपर्ने छ ।

तर, यसपटक पनि उक्त पुल निर्माणका लागि पर्याप्त बजेट व्यवस्था नगर्दा काम सकिने अवस्था छैन । आयोजनाका प्रमुख ओझाका अनुसार अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरे मात्रै बाँकी काम समयमै सकिन्छ । फाउन्डेसनको काममा समय लागे पनि बाँकी काममा धेरै समय नलाग्ने आयोजनाको ठम्याइ छ । तर, ठेकेदार कम्पनीलाई काम गरिसकेको भुक्तानीसमेत दिन नसकिएकाले थप काम गर्न ठेकेदारले आनाकानी गर्ने गरेको छ । ‘कमजोरी ठेकेदार कम्पनीको होइन, हाम्रो नै हो, किनभने सरकारले समयमै बजेटको व्यवस्था नगर्दा पुल निर्माण अलपत्र परेको छ,’ आयोजना प्रमुख ओझाले भने, ‘अलपत्र अवस्थामा रहेको संरचनामा काम गर्न थप बजेट चाहिन्छ ।’ त्यसो त तीन वर्षअघि नै निर्माण गरिसकेको फाउन्डेसन र सबस्टेसन संरचना काम लाग्ने हो या होइन भन्नेबारे निश्चित छैन । समयमै काम सक्न नसकिएपछि निर्माण भएको संरचना अलपत्र छाड्दा त्यो बिग्रन पनि सक्ने आयोजना प्रमुख ओझाको भनाइ छ । 

आयोजनाका अनुसार तीन स्थानमा निर्माण गरिएका पुलको काम एउटै चरणमा छ । एकै समयमा सक्ने लक्ष्यसहित ०७५ देखि तीनवटै पुल निर्माण थालिएको थियो । तर, ०५७ मा छुट्याएको बजेटमाथि काम भएपछि त्यसयता पुल निर्माणमा बजेट नदिँदा निर्माण अन्योल बनेको छ । 

See More On

सुझावित समाचार