पाँच वर्षयताकै उच्च बजेट खर्च भएको महानगरको दाबी

बिहिबार, २८ असार, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा गत पाँच वर्षको तुलनामा सबैभन्दा उच्च अंकमा बजेट खर्च गरेको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले मंगलबार विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष ०८०/८१ मा विनियोजित २४ अर्ब बजेटमध्ये १२ अर्बभन्दा बढी अर्थात् ५१.०४ प्रतिशत खर्च भएको दाबी गरेका छन् । उनका अनुसार यो पछिल्लो पाँच वर्षको अवधिमा भएको खर्चको दरमध्ये सबैभन्दा उच्च हो । 

‘यसरी खर्च हुनुमा नीति र योजनाबद्ध कार्यक्रम कार्यान्वयन गरिएकाले हो,’ प्रवक्ता मानन्धरले भने, ‘योजना र कार्यक्रमलाई प्राथमिकीकरण गरिएका कारण पनि प्रगति हासिल गर्न सहज भयो ।’ आर्थिक वर्ष ०८०/८१ मा भएको कुल खर्च रकम आर्थिक वर्ष ०७६/७७ का लागि विनियोजित सिंगो बजेटबराबर हो । यसको अघिल्लो वर्ष आव ०७५/७६ मा ५३ प्रतिशत खर्च भएको थियो । त्यसपछि आर्थिक वर्ष ०७६/७७ मा ५० प्रतिशत खर्च भएको थियो । त्यसपछिका वर्षमा खर्च गर्ने दर क्रमशः घट्दै गएको थियो । 

खर्च अंक घट्दै बढ्दै गएको अवस्थाको विश्लेषण गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘महानगरपालिकामा पुँजीगत खर्च वृद्धि र बेरुजु न्यूनीकरण हुनुमा योजनाबद्ध कार्यक्रम सञ्चालन तथा व्यवस्थापन, कार्य वातावरणमा सहजीकरण, समग्र कर्मचारीको खर्च गर्ने क्षमतामा तुलनात्मक रूपमा अभिवृद्धि, सामूहिक प्रयास (टिम स्पिरिट) लगायतका प्रयास हुन् ।’ 

महानगरपालिकाले आर्थिक वर्ष ०८०/८१ मा २४ अर्ब बजेट विनियोजन गरेको थियो । यसका लागि सबैभन्दा बढी आन्तरिक स्रोतबाट ८२ प्रतिशत, तीनै तहको राजस्व बाँडफाँडबाट नौ प्रतिशत, समानीकरण अनुदानबाट तीन प्रतिशत र ससर्त अनुदानबाट ६ प्रतिशत व्यहोर्ने अनुमान गरिएको थियो । चालू आर्थिक वर्षमा २४ सम्ममा करिब १० अर्ब आन्तरिक आय संकलन भएको छ । यस अर्थमा ०८०/८१ मा भएको खर्च संकलित आन्तरिक आयको तुलनामा १२० प्रतिशत हो । 

चालू, पुँजीगत र वित्तीय खर्चको अवस्था
पाँच वर्षअघि ०७६/७७ मा ७७ प्रतिशत चालू खर्च भएकोमा चालू आर्थिक वर्ष ०८०/८१ मा यो दर ६४ प्रतिशतमा सीमित भएको छ । यस्तै, आर्थिक वर्ष ०७७/७८ मा २१ प्रतिशत, ०७८/७९ मा २९ प्रतिशत र ०७९/८० मा २६ प्रतिशत रहेको पुँजीगत खर्चमा उत्साहजनक वृद्धि भएर ४२ प्रतिशत पुगेको छ । अर्कोतर्फ ०७७/७८ मा २३ प्रतिशत वित्तीय खर्च भएकोमा हाल शतप्रतिशत पुगेको छ । यसबाट महानगरपालिकाको ०८०/८१ को खर्च बढ्नुमा पुँजीगत खर्च र वित्तीय खर्चको योगदान रहेको पुष्टि हुन्छ । 

See More On

सुझावित समाचार