थोरै धितोमा धेरै ऋण प्रवाह गरेको फेला पारेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मेगा बैंक (हाल इन्भेस्टमेन्ट मेगा बैंक)माथि अनुसन्धान सुरु गरेको छ । मेगाबैंकले देउराली बहुउद्देश्यीय सहकारीलाई थोरै धितो राखेर ८० करोड रुपैयाँभन्दा धेरै ऋण प्रवाह गरेको अनुसन्धानबाट फेला परेको हो ।
देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं अहिले पुर्पक्षका लागि जेलमा छन् । उनकै योजनामा मेघाले पुजा मार्केटिङको नाममा ८३ करोड ५० लाख रुपैयाँ ऋण प्रवाह गरेको थियो । जसका लागि चौलागाईंले सातदोबाटोस्थित जग्गा धितो राखेका थिए । मेघाले प्रवाह गरेको ऋण धितो राखिएको जग्गाको मूल्यभन्दा झन्डै दुई गुणा धेरै छ । सिआइबीका प्रवक्ता एसपी होवीन्द्र बोगटीले कमसल धितोमा अत्यधिक ऋण प्रवाह गरेको देखिएपछि मेघामाथि अनुसन्धान सुरु गरिएको बताए । ‘मेगाबैंकले देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंको स्वामित्वमा रहेको कम्पनीमा ऋण प्रवाह गरेको देखिन्छ । प्रवाह भएको ऋण ८० करोड रुपैयाँभन्दा धेरै छ । तर, धितो निकै थोरै रहेको देखिन्छ । त्यसो हुँदा मेघामाथि अनुसन्धान सुरु गरिएको छ । अहिले कागजात अध्ययन भइरहेको छ,’ उनले भने ।
झन्डै दुई हजार बचतकर्ताको तीन अर्ब रुपैयाँभन्दा धेरै रकम डुबाएका चौलागाईंले मेघाको ऋण तत्कालीन सेन्चुरी कमर्सियल बैंकमा स्थानान्तरण गरिदिएका थिए । सेन्चुरीले पनि मेघाको ऋण सहजै स्वीकार गरेको थियो । सँगै सेन्चुरीले चौलागाईं स्वामित्वको थ्री ब्रदर्सको नाममा ४९ करोड ५० लाख, पूजा मार्केटिङको नाममा ५४ करोड र अन्नपूर्ण डिस्टिलरीको नाममा २४ करोड ६५ लाख रुपैयाँ ऋण प्रवाह गरिदिएको थियो । सोही अभियोगमा सिआइबीले सेन्चुरीका तत्कालीन अध्यक्ष राजेशकुमार श्रेष्ठसहित नौजनालाई गत २८ जेठमा पक्राउ गरेको थियो । सिआइबी प्रवक्ता एसपी बोगटीले भने, ‘सुरुमा चौलागाईंले मेघाबाट ऋण लिएको रहेछ । पछि सोही ऋण सेन्चुरी बैंकमा स्थानान्तरण भएको रहेछ । सेन्चुरीले मेघाको ऋण सहजै स्वीकार गरेको देखिन्छ । सेन्चुरीका तत्कालीन सञ्चालकसहितको टोलीलाई यसअघि नै पक्राउ गरिएको छ । मेघाको सन्दर्भमा अनुसन्धान हुँदै छ । पक्राउ पर्ने–नपर्ने कैफियतका आधारमा तय होला ।’
सिआइबीका अनुसार मेघाले चौलागाईं स्वामित्वको कम्पनीमा ऋण प्रवाहका निम्ति कारोबार धेरै देखाउन आन्तरिक राजस्व कार्यालयको नक्कली कर चुक्ता प्रमाणपत्र बनाएका थिए । त्यस्तै, मेघाले ऋण प्रवाह गर्नकै लागि मूल्य अभिवृद्धि करको नक्कली कागजात बनाएका थिए । उनीहरूले लेखा परीक्षणको कागजात पनि नक्कली नै बनाएका थिए । उनीहरूले हुँदै नभएको कारोबारको स्टक तथा रिसिभएबल देखाई गलत वित्तीय विवरणसमेत तयार गरेका सिआइबीको भनाइ छ । सिआइबी स्रोतले भन्यो, ‘नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन तथा निर्देशिकाको अधीनभन्दा बाहिर गई प्रतिवादीहरूले आफूअनुकूलको अवस्था सिर्जना गरेको देखियो । सोही आधारमा कम्पनीहरूको वास्तविक कारोबार रकमभन्दा बढी कारोबार भएको भनी आन्तरिक राजस्व कार्यालयको नक्कली कर चुक्ता प्रमाणपत्रसमेत बनाएको देखियो । नक्कली लेखा परीक्षणसमेत बनाई गैरकानुनी रूपमा ऋण प्रवाह गरेको देखियो ।’
मेघाकै कार्यशैली अनुसरण गरी ऋण प्रवाह गर्ने सेन्चुरीका तत्कालीन अध्यक्ष श्रेष्ठसहित सिआइबीले सुनीलकुमार न्यौपाने, प्राडा. गीता प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ, अभिषेक बज्रचार्य र शिवगोपाल सिराललाई पक्राउ गरेको छ । यसअघि सिआइबीले गत १४ फागुनमा सेन्चुरीका तत्कालीन डिसिइओ तथा प्रभु बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत(डिसिइओ) मनोज न्यौपानेसहित १० कर्मचारीलाई पक्राउ गरेको थियो । सेन्चुरीबाट देउराली सहकारीलाई एक अर्ब १४ करोड रुपैयाँ मूल्यबराबरको जग्गा धितो राखी दुई अर्ब ११ करोड ६५ लाख रुपैयाँ ऋण प्रवाह गरेको देखिएपछि सिआइबीले न्यौपानेसहितको टोलीलाई पक्राउ गरेको थियो ।